इरानमाथि तत्काल सैन्य आक्रमण गर्नुपर्ने खतरा नरहेको इजरायली विपक्षी नेताको भनाइ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८३, बुधवार

इरानमाथि तत्काल सैन्य आक्रमण गर्नुपर्ने खतरा नरहेको इजरायली विपक्षी नेताको भनाइ

इजरायलको विपक्षी गठबन्धनका नेता गादी आइसेनकोटले आगामी केही साताभित्र वा नयाँ सरकार गठन हुनुअघि इरानमाथि सैन्य आक्रमण गर्नुपर्ने तत्काल र प्रत्यक्ष खतरा नरहेको बताएका छन् । प्रशारण गरिएको एक वक्तव्यमा उनले इरानबाट उत्पन्न सबैभन्दा गम्भीर खतरा ४४० किलोग्राम प्रशोधित युरेनियम रहेको उल्लेख गर्दै त्यसलाई नष्ट गर्ने वा इरानबाट हटाउने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनको यो भनाइ इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल भइरहेका बेला आएको हो । यसैबीच, इजरायली सञ्चारमाध्यमहरूले निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि तत्काल संयुक्त सैन्य आक्रमण गर्न आग्रह गरिरहेको समाचार सार्वजनिक गरेका छन् । नेतान्याहुले इजरायल आफैँले पनि इरानमाथि आक्रमण गर्नुपर्ने दबाब दिइरहेको समाचारमा उल्लेख छ ।

यद्यपि, नेतान्याहुले इजरायली संसद (नेसेट) मा आफ्नो लिकुड पार्टीको बैठक उद्घाटन गर्दै इरानबाट उत्पन्न तत्कालीन खतरालाई कम आँकलन गर्नेहरूले राजनीतिक स्वार्थका कारण त्यसो गरिरहेको आरोप लगाए । उनले इरानको खतरा वास्तविक र गम्भीर रहेको बताए । त्यस्तै, पूर्वरक्षामन्त्री तथा विपक्षी गठबन्धनका नेता गादी आइसेनकोटका सहयोगी अविग्दोर लिबरम्यानले नेतान्याहुले इरानमाथि एकपक्षीय सैन्य आक्रमणको आदेश दिए त्यो स्पष्ट रूपमा गैरकानुनी आदेश हुने टिप्पणी गरेका छन् । इजरायलको सरकारी सञ्चारमाध्यम कान न्युजका अनुसार लिबरम्यानले पार्टीको बैठकमा यस्तो धारणा राखेका हुन् । इरानको आणविक कार्यक्रम र त्यससँग जोडिएको सुरक्षा चुनौतीलाई लिएर इजरायलभित्रै तत्काल सैन्य कारबाही गर्ने वा कुटनीतिक तथा अन्य उपायलाई प्राथमिकता दिने भन्ने विषयमा मतभेद देखिएको छ ।

Leave a Reply

ताजा समाचार