काठमाडौँ ।
तजिकिस्तानको राजधानी दुशान्बेमा ‘दिगो विकासका लागि पानी’ (सन् २०१८–२०२८) सम्बन्धी अन्तर्राष्ट्रिय कार्य दशकको ढाँचा अन्तर्गत चौथो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि शुरु भएको छ । ‘दुशान्बे जल प्रक्रिया’ अन्तर्गत आयोजित यो सम्मेलन आगामी बिहीवारसम्म चल्नेछ । सम्मेलनको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको सन् २०२३ को जल सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न सामूहिक प्रयास जुटाउनु रहेको छ । साथै, सन् २०३० को दिगो विकास एजेण्डाका लक्ष्यहरू हासिल गर्न नयाँ साझेदारीलाई प्रोत्साहन गर्ने र कार्ययोजनामा तिब्रता दिने लक्ष्य समेत यसले राखेको छ । दिगो जलस्रोत व्यवस्थापन र हिमनदी संरक्षण जस्ता महत्वपूर्ण विषयहरू कार्यसूचीमा रहेको यस सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरू, वित्तीय एवं वैज्ञानिक संस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ । आयोजककाअनुसार सम्मेलनमा ११० भन्दा बढी देशका आधिकारिक प्रतिनिधिमण्डलहरूको उपस्थिति रहेको छ । तजिकिस्तान सरकारले संयुक्त राष्ट्रसंघसँगको निकट समन्वयमा हरेक दुई वर्षमा आयोजना गर्ने यो सम्मेलन श्रृङ्खलाले ‘दिगो विकासका लागि पानी’ दशकका उद्देश्यहरू प्राप्त गर्न सहयोग पु¥याउँदै आएको छ ।





