विश्वकप खेल्ने सपना बाेकेर क्रिकेट टोली स्वदेश अाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप खेल्ने सपना बाेकेर क्रिकेट टोली स्वदेश अाउँदै

काठमाडाैं, ५ फागुन । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टू खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश अाउँदै छ । नामिबियामा भएको प्रतियोगितामा उपबिजेता बन्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोलीलाई अबको बाटो अझै चुनौतीपूर्ण छ ।

डिभिजन–टूको उपाधि भिडन्तमा युएईसँग केबल ७ रनले पराजित भएपनि नेपाली टोलीकाे सन् २०१९ मा हुने एकदिवसीय विश्वकप खेल्ने सपना पुरा भएकाे छ ।

सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको नेपाल भण्डै २२ बर्षपछि विश्व क्रिकेट लिग डिभिजन एकसम्म आइपुगेको छ । साथै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि प्रारम्भिक बाटो पनि बनाएको छ ।

सन् २०१० मा त्रिवि क्रिकेट मैदानमा डिभिजन पाँचको उपाधि, सन् २०१२ मा मलेसियामा डिभिजन चार र सोही वर्ष यूएईमा भएको एसीसी ट्रफीको उपाधि जितेको नेपाली क्रिकेट टोलीले सन् २०१३ मा बर्मुडामा डिभिजन तीन तथा सन् २०१४ मा फेरि डिभिजन चारको उपाधि जितेको थियो । त्यस्तै सन् २०१३ मा यूएईमा भएको छनोट प्रतियोगितामार्फत पहिलोपटक टी–ट्वेन्टी विश्वकपमा छनोट हुँदै सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वेन्टी विश्वकपमा नेपालले पहिलोपटक प्रतिष्पर्धा गरेको थियो ।

तर, बंगलादेश विश्वकप खेलेपछि नेपाली क्रिकेटको यात्रा फेरि रोकियो । सन् २०१५ मा नामिबियामा भएको डिभिजन–टू प्रतियोगितामा शीर्ष दुईभित्र अटाउन नसक्दा नेपाल अघि बढ्न पाएन । आईसीसीको एउटा निर्णयले नेपाल डिभिजन एकमा त पुग्यो तर, सन् २०१५ देखि सन् २०१७ को डिसेम्बरसम्म चलेको च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन् र डिभिजन–टू मा घटुवा भयो ।

अहिले नेपाली टोली डिभिजन एकमा उक्लदै एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गर्दा समर्थकहरु निकै उत्साहीत भएका छन् । डिभिजन–टू प्रतियोगितामा रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण सफलता हात पारेको नेपाली क्रिकेट एकदिवसीय टोलीको मान्यता नजिक  पुगेको छ ।

तर, एकदिवसिय टोलीको मान्यता पाउन नेपाली टोलीले जिम्बाब्वेमा अर्को महिना हुने विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सबाहेक एसोसिएट टोली मध्ये शीर्ष तीनभित्र अटाउन सक्नुपर्छ । तर, नेपाली क्रिकेट टोलीको अबको बाटो भने त्यती सहज छैन । नेपालले अबको १५ दिनपछि नै विश्वकप छनोट प्रतियोगिता खेल्दैछ ।

विश्वकप छनोट पक्का गर्न नेपालले यसअघि दुईपटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट मान्यता प्राप्त र एसोसिएटमै उच्चस्तरको प्रतियोगिता खेलिसकेको सामना गर्नुपर्नेछ । १० टोलीबीच हुने प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोलीले मात्र सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन् । बाटो कठिन भए पनि नेपाली टोलीको लागि यो सूवर्ण अवसर हो ।

खेलाडीको मिहीनतले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याए पनि नेपाली क्रिकेट टोली लामो समयदेखि अभिभावक विहिन जस्तो बनेको छ । घरेलु क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा बाधा झेल्दै आएको छ । आइसीसीकै रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको नेपाली टोलीले धेरै समस्या झेल्नुपरेको छ ।

यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषदले छनोट प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी लिन आवश्यक छ । र, खेलाडिको मनोबल खस्कन नदिई विश्वकप खेल्ने सपना पुरा गर्न भरपुर सहयोग गर्न आवश्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);