फर्किएको खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

फर्किएको खुसी

काठमाडौं, ५ फागुन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको झन्डै २२ वर्ष पुगेको छ। सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी खेल्दै सुरु गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन एकसम्म आइपुगेको छ।

अनि सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने तयारीमा पनि छ, नेपाल।नेपाली क्रिकेटले आफ्नो दुई दशकभन्दा लामो अवधिमा नेपाली क्रिकेटप्रेमीलाई धेरै नै खुसी हुने क्षण पनि दिएको छ। सन् २०१० मा त्रिवि क्रिकेट मैदानमा डिभिजन पाँचको उपाधि जित्दा मात्रै होइन, सन् २०१२ मा मलेसियामा डिभिजन चार र सोही वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको एसीसी ट्रफीको उपाधि जित्दा समर्थक कम्ता खुसी थिएनन्।

सन् २०१३ मा बर्मुडामा डिभिजन तीन तथा सन् २०१४ मा फेरि डिभिजन चारको उपाधि जित्दा पनि दर्शकको उत्साह चरममा थियो। यसैगरी सन् २०१३ मा यूएईमा भएको छनोट प्रतियोगितामार्फत पहिलोपटक टीट्वेन्टी विश्वकपका लागि छनोट पक्का गर्दा अनि सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्दा नेपाली समर्थकको खुसीले सीमा नाघेको थियो। सायद त्यही समय थियो, देशको बिग्रँदो राजनीतिक अवस्थाका कारण विभिन्न बहानामा विभाजित देखिएका मनहरू पनि क्रिकेटको विषयमा एक देखिएको थियो।

दुर्भाग्य ! बंगलादेश विश्वकप खेलेपछि नेपाली क्रिकेटको यात्रा फेरि रोकियो। सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुई प्रतियोगितामा शीर्ष दुईभित्र अटाउन नसक्दा नेपाल अघि बढ्न पाएन। तर, आईसीसीको एउटा निर्णयले नेपाल डिभिजन एकमा भने पुग्यो।

आईसीसीले अफगानिस्तान र आयरल्यान्डलाई टेस्ट टोलीको मान्यता दिँदै उनीहरूको स्थानमा नेपाल र केन्यालाई डिभिजन एकको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्यिनसिपमा बढुवा गर्ने निर्णय गरेको थियो। सन् २०१५ देखि सन् २०१७ को डिसेम्बरसम्म चलेको च्याम्पियनसिपमा नेपालको प्रदर्शन फेरि खस्कियो।

च्याम्पियनसिपको शीर्ष चार भित्र अटाउन नसक्दा नेपाल फेरि डिभिजन दुईमा घटुवा भयो। त्यसैले पछिल्लो झन्डै तीन वर्ष खस्किएको नेपाली क्रिकेटको प्रदर्शनबाट निराश समर्थक बिहीबार नामिबियामा सम्पन्न डिभिजन दुईको प्रदर्शनबाट खुसी देखिएका छन्। फाइनल खेलमा यूएईसँग सात रनले पराजित भएपछि उपाधिबाट वञ्चित भएको नेपालले डिभिजन एक र विश्वकप छनोटमा स्थान सुरक्षित गर्न गरेको प्रदर्शनबाट घरेलु दर्शक मात्रै नभएर अन्तर्राष्ट्रिय क्रिकेट नै रोमाञ्चित भएको छ।

प्रायः खेलहरू असम्भव देखिएको अवस्थामा पुगेर जित निकाल्दा नेपालले अहिलेसम्मकै महत्वपूर्ण सफलता हात पार्न सफल भयो। यससँगै नेपाली क्रिकेट एकदिवसीय टोलीको मान्यतानजिक पनि पुगेको छ। जिम्बाब्वेमा अर्को महिना हुने विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सबाहेक एसोसिएट टोलीमध्ये शीर्ष तीनभित्र अउटाउन सके नेपालले आगामी चार वर्षका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाउनेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);