काठमाडाैं । काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको हो ।
महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकता अनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । पशुपति क्षेत्रमा सडक मानवहरूको संख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो ।
उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ । जसको कोही पनि छैन र साच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ । उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण ‘व्यवहारगत समस्या’ रहेको डंगोलले औंल्याउनुभयो ।
यो अभियान पशुपतिमा मात्र सीमित नभई कालीमाटी, स्वयम्भूलगायत काठमाडौंका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलका अनुसार यो कार्य एक–दुई दिनको मात्र नभई महानगरलाई ‘सहयोगापेक्षी मानवमुक्त’ नबनाएसम्म निरन्तर चलिरहनेछ ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेका बेसहारा, अशक्त र सडक आश्रित मानवहरूको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको थियो । बुधबार राति महानगरको टिम पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थियो । काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमको संयुक्त पहलमा भइरहेको यस अभियानमा सहभागी हुँदै उहाँले सडकमा रहेका व्यक्तिहरूको पीडा सम्बोधन गर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिनुभयो ।
पशुपति क्षेत्रमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि विशेष उद्धार तथा स्थलगत अवलोकन अभियान शुरु गरिएको हो । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम र सुरक्षा निकायहरुको संयुक्त पहलमा यो अभियान अगाडि बढाइएको हो । अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा कार्यकारी निर्देशक र नेपाल प्रहरीका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको छ । टोलीले पशुपति क्षेत्रका खुल्ला ठाउँमा बसोवास गरिरहेका व्यक्तिहरुको अवस्था पहिचान गरी आवश्यक परेकाहरुलाई उद्धार गर्ने कार्य गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाका कर्मचारी वसन्त आचार्यकाअनुसार यो अभियान निरन्तर रुपमा अगाडि बढ्नेछ । उद्धार गरिएका व्यक्तिहरुलाई शुरुमा स्क्रिनिङ सेन्टरमा राखिने र उनीहरुको अवस्था हेरी पारिवारिक पुनर्मिलन गराउने, आश्रममा लगेर सेवा दिने वा आवश्यक जानकारी गराएर घर पठाउने कार्यक्रम रहेको छ।
यस अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र पशुपति क्षेत्र विकास कोषको प्रहरी टोलीले सामूहिक रुपमा काम गरिरहेका छन् । स्थानीय बासिन्दा र सरोकारवाला निकायहरुको यो सामूहिक प्रयत्नले काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रित मुक्त शहर घोषणा गर्ने लक्ष्यमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।





