राष्ट्रिय सभाको निर्वाचनमा करिब ९९.५२ प्रतिशत मतदान, मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभाको निर्वाचनमा करिब ९९.५२ प्रतिशत मतदान, मतगणना जारी

जम्मा ८ जना मतदाता अनुपस्थित

काठमाडाैं, २४ माघ । राष्ट्रियसभाका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । ७ प्रदेशमध्ये ६ प्रदेशमा मात्र आज निर्वाचन भएको थियो । निर्वाचनमा मतदाताको व्यापक र उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नु परेन ।

कुल २ हजार ५६ जना मतदातामध्ये आजको मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदाता थिए ।

सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार आजको मतदानमा ९९.५२ प्रतिशत मतदान भएको निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । ६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने जम्मा ८ जना मतदाता अनुपस्थित रहेको यादवले बताए ।

मतदानका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो । मतदान सकिए लगत्तै सम्बन्धित प्रदेशमै रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य सुरु भइसकेको उनले बताए ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने छन् ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् ।

 महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान भएको छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);