राष्ट्रपति निर्वाचन , प्रदेश सांसदले पनि केन्द्रमै मत हाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति निर्वाचन , प्रदेश सांसदले पनि केन्द्रमै मत हाल्ने

voting

काठमाडौं, १६ फागुन । राष्ट्रपति चयनका लागि २९ फागुनमा हुने निर्वाचनको मतदान संघीय संसद् भवन बानेश्वरमा हुने भएको छ । मतदानका लागि संघीय संसद्का सदस्यसहित सातै प्रदेशका प्रदेशसभाका सदस्य (निर्वाचकमण्डल ) काठमाडौंमा रहेको संघीय संसद् भवनमा नै आउनुपर्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशमा मतदान गर्न व्यवस्थापकीय असहजता रहेकाले केन्द्रमा नै मतदान हुने भएको जानकारी दिए । उनका अनुसार संघीय संसद् भवनमा नै राष्ट्रपति निर्वाचन हुनेछ । ‘सबै प्रदेशमा गर्न व्यवस्थापकीय असहजता छ, प्रदेशहरूमा गर्दा व्यावहारिक पनि देखिँदैन, नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा नै राष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

उनका अनुसार प्रदेशसभाका सांसदसमेत मतदानका लागि संघीय संसद् भवनमा नै आउनुपर्नेछ । आयोगले प्रदेशमा थोरै मतदाता रहेकाले हरेक प्रदेशमा मतदान अधिकृतसमेत राख्नुपर्ने अवस्थाका कारण केन्द्रमा नै निर्वाचन गर्न सहज हुने निष्कर्ष निकालेको हो । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद (निर्वाचकमण्डल) मतदाता रहने व्यवस्था छ । तर, तिनै तहका मतदाताकोे मतभार भने फरकफरक हुनेछ ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम २१ फागुनमा मतदाता नामावली प्रकाशित गर्ने, २३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुने र २९ फागुनमा निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस्तो छ प्रक्रिया
संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुने व्यवस्था छ । यसअघि संसद्मा कायम रहेका सदस्यको बहुमत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था थियो ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्‌का ३३४ सदस्यले मतदान गर्न पाउनेछन । यस्तै, सातवटै प्रदेशका कुल ५५० प्रदेशसभा सदस्यले समेत राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनेछन् । राष्ट्रपति निर्वाचनका लागि कुल ८८४ मतदाता छन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुनबमोजिम फरक छ । कानुनअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । सो कानुन गत २२ असोजमा संसद्बाट पारित भएर २७ असोजमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।

मतभारअनुसार संघीय संसद्‌का कुल ३३४ सदस्यको कुल मतभार प्रतिसदस्य (७९ का दरले) २६ हजार ३८६ हुनेछ । यस्तै, प्रदेशसभाका कुल ५५० सदस्यको कुल मतभार प्रतिसदस्य ४८ का दरले २६ हजार ४ सय हुनेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७८६ हुनेछ । जितका लागि भने कुल मतभारको ५१ प्रतिशत अर्थात् उम्मेदवारले कम्तीमा २६ हजार ३ सय ९४ मत प्राप्त गर्नुपर्छ । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);