राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, २३ माघ । भोली हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

सातवटै प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले भोलि हुने मतदानका लागि गर्नुपर्ने सबै प्रकारका तयारी पूरा गरेको आयोगले जानकारी दिएको छ । नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदातालाई आयोगले आह्वान गरेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ।

यस निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

२४ जना निर्विरोध निर्वाचित

६ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।  एक जना उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । २४ जना निर्विरोध निर्वाचित भएका छन्। कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेकाे अायाेगले जनाएकाे छ । माघ २१ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भइसकेकाले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबै पक्षबाट हुनेमा आयोग ढुक्क रहेको छ ।

भोलि हुने निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको छ । तर प्रदेश नम्बर २ मा आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुने अायागले जनाएकाे छ ।

कुन प्रदेशमा कति निर्विरोध निर्वाचित भए ?

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मतदान हुने छ ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य सदस्यमा निर्वाचन हुने छ ।

यसैगरी, प्रदेश नम्बर ५ मा ३ जना महिला सदस्य निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ ।

त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन हुने भएकाे निर्वाचन अायाेगले जनाएकाे छ ।

कति छन् मतदाता ?
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता छन् । त्यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका ५५० मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान रहेको छ । प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

निर्वाचनमा स्वतिक चिह्नको प्रयोग नहुने

विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन । मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नु पर्ने छ ।  तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ ।

महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ । साथै स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेश सभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्ने व्यवस्था मिलाउनका लागि आयोग सबै राजनीतिक दल, उम्मेदवार र निर्वाचनका लागि खटिएका कर्मचारीहरूलाई अपील गरेकाे छ ।

मतदान सकिए लगत्तै मतगणना कार्य सुरु  हुने

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना कार्य सुरु गर्न पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । ७ वटै प्रदेशको अन्तिम परिणाम प्राप्त भएपछि आवश्यक तयारी पूरा गरेपछि राष्ट्रियसभा निर्वाचनको अन्तिम मत परिणाम राष्ट्रपति समक्ष पेश हुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);