३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

nirbachan aayog

काठमाडौं,२४ माघ । संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् ।संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । ५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । आयोगद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे । ‘संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भइसकेको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘राष्ट्रियभा निर्वाचन पनि उल्लासमय वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्पूर्ण सरोकारवालासँग आग्रह गर्दछु ।’ प्रमुख आयुक्त यादवले बुधबार मतदान सकिएलगत्तै मतगणना सुरु गर्न सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए ।

आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।प्रमुख आयुक्त यादवले राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम पनि सार्वजनिक गर्ने बताए ।

उनका अनुसार विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा थे्रसहोल्ड ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलहरुको संख्या र सिट तोकी बन्दसूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई तीन दिनको समय दिएर पत्राचार गरिनेछ । दलहरुले गरेको सिफारिसपछि समावेशी समूह मिले–नमिलेको जाँच गरेपछि अन्य सबै प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुन पहिलो सााभित्रै राष्ट्रपतिसमक्ष पेस गरिने प्रमुख आयुक्त यादवले बताए ।

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा भाग लिन २१ राजनीतिक दलले निवेदन दर्ता गराएकामा १३ वटा दलका ८३ जनाको मात्रै उम्मेदवारी परेको थियो । जसमध्ये ६ जना उम्मेदवारले नाम फिर्ता लिएको, एकजनाको उम्मेदवारी रद्द भएको २४ जना निर्विरोध निर्वाचित भएकाले अब ३२ पदका लागि ५२ जना मैदानमा छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अब एकजना दलित र एकजना अपांगता वा अल्पसंख्यक समुदायबाट गरी २ सदस्यका लागि मतदान हुनेछ । प्रदेश २ मा ८ वटै पदहरु निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ७ पदमा मतदान हुँदैछ । प्रदेश ५ मा ३ महिला सदस्य निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि मतदान हुनेछ । प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा निर्विरोध निर्वाचित भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुनेछ ।

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्य गरी कुल २ हजार ५६ मतदाता छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरी १५ सय ६ जना र ५ सय ५० जना प्रदेशसभाका सदस्य छन्। निर्वाचनमा गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेशभा सदस्यको मतभार ४८ रहने व्यवस्था छ ।

प्रदेश २ का ८ जना सदस्य निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कुल १६ सय ७७ जना मतदाताले बुधबार मतदान गर्नेछन् । राष्ट्रियसभा निर्वाचनमा विगतमा जस्तो स्वस्तिक चिह्नको प्रयोग नहुने आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका प्रतिनिधिले रातो रङको मतपत्रमा मत संकेत गर्नेछन् ।

तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ । महिला १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक राइट चिह्न संकेत गर्नुपर्नेछ । राष्ट्रपतिबाट राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएपछि पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);