काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुनुहुन्छ ।
अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावकाे नेतृत्वकर्ता भने काँग्रेस सांसद इन्द्र बानियाँ रहनुभएको छ ।
यद्यपि मुख्मन्त्री लामाले अविश्वासको प्रस्तावकाे सामना गर्ने बताइसक्नुभएको छ । यता, नेकपा एमालेका वागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेसका सांसदहरुबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे काँग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
उहाँले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पार्नुभयो। प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेलामा प्रदेश सरकारलाई अझ अस्थिर बनाउनु नहुने एमालेको सुझाव रहेको बताउनुभयो।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/०८३ का लागि ल्याएको बजेटमा काँग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा काँग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।





