निजी क्षेत्रको मनोबल उच्च राख्न र नीतिगत सुधारका लागि सक्षम नेतृत्व आवश्यकः उपाध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

निजी क्षेत्रको मनोबल उच्च राख्न र नीतिगत सुधारका लागि सक्षम नेतृत्व आवश्यकः उपाध्यक्ष ढकाल

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रश्तावित उम्मेदवार हेमराज ढकालले मुलुकको वर्तमान आर्थिक चुनौती र प्रतिकूल वातावरणमा निजी क्षेत्रको नेतृत्व गर्न अनुभवी र व्यावसायिक टिमको आवश्यकता रहेको बताउनुभएको छ । महासंघको आसन्न निर्वाचनका सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले आफ्नो टिमले नयाँ सरकारका चुनौती र सम्भावनालाई चिर्दै निजी क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने दाबी गर्नुभयो । आफ्नो प्यानलमा पुरानो र नयाँ पुस्ताको उत्कृष्ट सन्तुलन रहेको ढकालले उल्लेख गर्नुभयो । उहाँकाअनुसार टिममा सचिन ढकाल र जश श्रेष्ठ जस्ता ‘जेन–जी’ पुस्ताका नवप्रवर्तनकारी उद्यमीदेखि गोपाल खनाल, शैलेन्द्र गोरागाईँ, अविनाश बोहोरा, सुनिल नारायण श्रेष्ठ र डा. रामशरण थपलिया जस्ता अनुभवी व्यक्तित्वहरू समावेश छन् । यो मिश्रित टोलीले स्टार्टअप, इनोभेसन र परम्परागत उद्योग सबैको प्रतिनिधित्व गर्ने उहाँको तर्क छ ।

निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र रोजगारीमा ८० प्रतिशतभन्दा बढी योगदान पु¥याए पनि राज्यको प्राथमिकतामा पर्न नसकेकोमा ढकालले चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी, अनुसन्धानका नाममा व्यवसायीहरूलाई बिना प्रमाण थुनामा राख्ने प्रक्रियाप्रति उहाँले आपत्ति जनाउनु भयो । आफ्नो कार्यकालमा कानून संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन, र बहुदर कर प्रणालीका लागि पहल गरेको स्मरण गर्दै ढकालले अबको नेतृत्वले ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन रणनीति’ (पीएसपीपी) लाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारले अघि सारेको १०० दिनको कार्ययोजना र अर्थमन्त्रीले दिएका आश्वासनहरू निजी क्षेत्रमैत्री देखिए पनि व्यवहारमा अझै समस्या रहेको उहाँको भनाइ छ । १५ वटा पुराना कानून खारेजी र राजश्व अनुसन्धान विभागको पुनर्संरचना जस्ता सकारात्मक घोषणा भएपनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको उहाँले औंल्याउनु भयो । उपाध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व निजी क्षेत्रको हकहितका लागि सरकारसँग स्पष्ट संवाद गर्नसक्ने र व्यावसायिक समस्या समाधान गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply