निजी क्षेत्रको मनोबल उच्च बनाउन ‘६ स्तम्भ ६० पहल’ को कार्यदिशासहित अञ्जन श्रेष्ठले सम्हाले महासंघको नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

निजी क्षेत्रको मनोबल उच्च बनाउन ‘६ स्तम्भ ६० पहल’ को कार्यदिशासहित अञ्जन श्रेष्ठले सम्हाले महासंघको नेतृत्व

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षका लागि ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ मुख्य एजेण्डा रहने घोषणा गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र देशको अर्थतन्त्रलाई गति दिन ‘६ स्तम्भ र ६० पहल’ को विस्तृत कार्यदिशा सार्वजनिक गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले महासंघको साख र गरिमालाई थप उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले ‘जोसिलो, जिम्मेवार र जीवन्त महासंघ’ को नारासहित आफूले नेतृत्व सम्हालेको बताउँदै निजी क्षेत्रको हकहितका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । देशको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै अध्यक्ष श्रेष्ठले विदेशी मुद्रा सञ्चिति ३.४१४ खर्ब पुग्नु र रेमिटेन्समा ४० प्रतिशतको वृद्धि हुनु सकारात्मक भएपनि आन्तरिक उत्पादन र लगानीको अवस्था चिन्ताजनक रहेको औँल्याउनु भयो ।

बैंकहरूमा करिव ७ सय अर्बको तरलता भएपनि उद्यमीहरूबाट लगानीको माग नहुनु, कर्जा विस्तार लक्ष्यभन्दा न्युन रहनु र उद्योगहरू क्षमताभन्दा कममा सञ्चालन हुनुले निजी क्षेत्रको मनोबल कमजोर भएको उहाँको विश्लेषण छ । सचिवालयको व्यावसायिकरण, डिजिटल सदस्य पोर्टल, मोबाइल एप, र जिल्ला तथा वस्तुगत डेस्कको स्थापना गर्ने, नीति अनुसन्धान शाखाको स्थापना, कानूनी डेस्क, र सरकारको दोस्रो चरणको आर्थिक सुधारमा सक्रिय सहभागिता, ‘मेड इन नेपाल’ अभियानको प्रवद्र्धन, निर्यात सहजीकरण र स्टार्टअप प्रोत्साहन, वैदेशिक लगानी सहजीकरण, जलवायु वित्त, र प्रवासी नेपालीको लगानी परिचालन, ‘स्किल एकेडेमी’ को स्थापना, श्रम विवाद समाधानका लागि मध्यस्थता केन्द्र र दक्ष जनशक्ति निर्माण, व्यावसायिक विवादको गैर–अपराधीकरण, ‘इज अफ डुइङ बिजनेस’ मा सुधार र निजी सम्पत्तिको सुरक्षाका लागि पैरवी गर्ने उहँँको योजना छ । अध्यक्ष श्रेष्ठले महासंघ सरकारको प्रतिद्वन्द्वी नभई अर्थतन्त्रको सहयात्री भएको स्पष्ट पार्नुभयो । व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र अग्रिम धरौटी जस्ता समस्याको समाधान हुनुपर्नेमा उहाँको जोड छ ।

उद्यमीलाई ‘शोषक’ नभई ‘सम्पत्ति निर्माता’ र ‘करदाता सहयात्री’ का रूपमा हेर्ने सामाजिक दृष्टिकोण विकास गर्न महासंघले अभियान चलाउने समेत उहाँले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा पूर्व अध्यक्षहरूको मार्गनिर्देशन र वर्तमान कार्यसमितिको सामूहिक भावनालाई आत्मसात गर्दै अघि बढ्ने उहाँले बताउनु भयो । जिल्ला, नगर, वस्तुगत र एशोसिएट सदस्यहरूको आवाजलाई केन्द्रसम्म पु¥याउन महासंघले प्रभावकारी भुमिका खेल्ने विश्वास दिलाउँदै उहाँले सबै सरोकारवालालाई हातेमालो गर्न आह्वान गर्नुभयो ।

Leave a Reply

ताजा समाचार