निजी क्षेत्रबीच व्यावसायिक एकता र सहकार्यमा पूर्वअध्यक्ष मल्लको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

निजी क्षेत्रबीच व्यावसायिक एकता र सहकार्यमा पूर्वअध्यक्ष मल्लको जोड

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उहाँले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उहाँले बताउनु भयो । नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उहाँको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन/नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गर्नुभयो । कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार