बर्खाको बेलामा खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने क्रम बढेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार डुबेर हुने मृत्युको घटना सबैभन्दा धेरै मधेशमा छ । कोही पौडी खेल्ने क्रममा डुबेका छन् भने कोही इनारमा डुबेका छन् । पानी जमेको खाल्डोमा परेर ज्यान गुमाउने पनि उत्तिकै छन् । पानीले भरिएको बाल्टिनी, बाटा लगायतका भाडामा डुबेर पनि बालबालिकाले अकालमा ज्यान गुमाएका छन् ।
बर्खा लागेसँगै पानीमा डुबेर मृत्यु भएको दुःखद् घटनाका समाचार एकपछि अर्को गर्दै दिनहुँ जसो आउने गरेका छन् । असारको अन्तिममा काठमाडौंको कीर्तिपुर नगरपालिकाको चोभारमै पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भयो । त्यसअघि धनगढीमा पनि पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको थियो । लगत्तै सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको खबर आयो ।
यहाँ नभनेका अरु थुप्रै यस्ता घटना छन् । सामान्य लापरबाहीकै कारण यस्ता घटना हुने गरेको पाइन्छ । तर न हेलचेक्र्याईँ नियन्त्रणको प्रयास भएको छ, न लापरबाही गर्नेहरुमाथि कारबाही नै भएको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार डुबेर हुने मृत्युको घटना सबैभन्दा धेरै मधेशमा छ । मधेशमा खोला किनारमा र अन्य ठाउँमा बालुवा तथा माटो निकाल्न खनिने ठूला खाडल र विकास निर्माणका काममा हुने खेलाँची बालबालिका मृत्युको कारण बन्ने गरेको छ ।

मधेशमा डुबेरै तीन वर्षमा पाँच सय ४२ जनाको मृत्यु भएकाेमा ५९ प्रतिशत बालबालिका छन् । यो संख्या अझै बढ्दो क्रममा छ । बाढी, पहिरो, शीतलहर, गर्मी, आगलागी, हावाहुरी लगायतलाई विपद् भन्दै मधेशका पालिका र प्रदेश सरकारले पूर्वतयारी गरेको देखिन्छ । तर, पोखरी, नदी, खोल्सा, ठेकेदारले जथाभावी खनेर अलपत्र छाेडेका गहिरो खाल्डोमा डुबेर मृत्यु हुनेलाई क्षतिपूर्ति त परै जाओस् तिनै तहका सरकारले प्राथमिकतामा समेत राखेको पाइँदैन ।
अभियानकर्मीले डुबेर हुने मृत्युका घटना नरोकिनुमा जनचेतनाको कमी प्रमुख कारण रहेको बताएका छन् । सरकारले यस्ता घटना नियन्त्रणका लागि कार्यक्रम ल्याउनुपर्ने सँगसँगै परिवारका सदस्यले पनि आफ्ना बालबालिकाको उचित हेरविचार गर्नुपर्ने सडक सुरक्षा विज्ञ प्राडा भगवती सेढाईँ बताउनुहुन्छ । उहाँका अनुसार पानीसँग दिनचर्या जोडिएको पृष्ठभूमिमा बालबालिका नदी, पोखरीमा एक्लै नुहाउन जाने गरेका हुन्छन्।

यसमा अभिभावकहरूको कमजोरी हो । तर त्योभन्दा बढी व्यवस्थित विकास नहुनु ठूलो कारण हो । विकासका नाममा धेरैतिर खन्नु र नपुरिकन त्यसै छोडिनुले पनि यस्ता घटना हुने गरेका छन् । यस्तै, खाल्डो भएको ठाउँमा सूचनाको व्यवस्था गर्न सकेपनि सावधानी अपनाउन सजिलो हुने पूर्वाधार विज्ञ आशिष गजुरेलको भनाइ छ । अव्यवस्थित रुपमा जथाभावि खाल्डो खन्ने र नपुर्ने जस्तो लापरबाहीलाई भने अपराध नै मान्नुपर्नेमा उहाँको जोड छ ।
पछिल्ला वर्षहरूमा मधेशमा मात्र नभएर काठमाडौं उपत्यकासहित धेरै जिल्लामा खाल्डोमा जमेको पानी, भाडामा जम्मा गरेको पानी , खुल्ला इनार, ताल तलाउ लगायतमा डुबेर नवजात शिशुदेखि धेरै बालबालिकाले ज्यान गुमाइ रहेका छन् । सानो लापरबाहीले ठुलो विपत् निम्त्याउने यस्ता घटना न्यूनीकरणका लागि स्थानीय सरकारदेखि स्थानीय बासिन्दासम्म गम्भीर हुनुपर्ने देखिएको छ ।






