बलात्कारजस्तो जघन्य अपराधमा लेनदेनमा मिलापत्र, भुक्तानी अधुरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बलात्कारजस्तो जघन्य अपराधमा लेनदेनमा मिलापत्र, भुक्तानी अधुरो

rape

काठमाडौं, २२ माघ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना मिलापत्र गर्न २७ लाख रुपैयाँ लेनदेन भएको खुलेको छ । गत ७ माघमा ललितपुर–४ धोबीघाटकी २० वर्षीया युवतीमाथि ल्यान्डमार्क होटेलको कोठा नम्बर ४०५ मा सामूहिक बलात्कार भएको थियो ।

घटनामा मिलापत्र गर्न पहिलो चरणमा ३० लाख दिने सम्झौता भएको थियो । तर, मिलापत्रमा हस्ताक्षर गरिसकेपछि पीडित पक्षलाई २७ लाख रुपैयाँ मात्रै दिइएको थियो ।

‘घटनामा मिलापत्र गर्न पहिलो चरणमा ३० लाखको डिल भएको देखियो । त्यहीअनुसार मिलापत्र बन्यो । तर, पछि पीडक पक्षले २७ लाख रुपैयाँ मात्रै दिएको खुल्यो । रकम लगेर बैंक खातामा जम्मा गरिएको देखिन्छ,’ घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

दुई मुद्दामा प्रहरीको एकैपटक अनुसन्धान
प्रहरीले सामूहिक बलात्कार घटनामा दुई छुट्टाछुट्टै मुद्दा बनाएर अनुसन्धान थालेको छ । त्यसमध्ये एक घटनाको वास्तविक अनुसन्धान र अर्को मिलापत्रसम्बन्धी अनुसन्धान हो । महानगरीय प्रहरी परिसर काठमाडौंले यसका लागि छुट्टाछुट्टै दुई टोली बनाएको छ ।

त्यसमध्ये एकले बलात्कार घटना र त्यससँग सम्बन्धित व्यक्तिको अनुसन्धान गरिरहेको छ । अर्को बलात्कारजस्तो जघन्य अपराधको प्रहरी कार्यालयमै मिलापत्र गरिएको सम्बन्धमा छ ।

यस्तो छ मिलापत्र
प्रहरीले गराएको मिलापत्रमा युवतीले आफूलाई कसैले जबर्जस्ती करणी नगरेको उल्लेख छ । युवतीले दुई महिनाअघि पनि प्रेमी शैलेससँग सहमतिमै शारीरिक सम्पर्क राखेको जनाएकी छिन् । उनले ७ माघ राति होटेल ल्यान्डमार्कमा कोठा बुक गरी रक्सी सेवन गरेको र एकपटक शारीरिक सम्पर्क गरेपछि नसाको सुरमा विवाद उत्पन्न भएको बताएकी छिन् ।

मिलापत्रमा शैलेसले कोठामा एक्लै छाडेर गएको र भोलिपल्ट आवेशमा दरबारमार्ग प्रहरीमा मौखिक जाहेरी गरेको र सो उजुरी गर्नु आफ्नो भूल भएको उल्लेख छ । उनले आफूले लिखित जाहेरी नदिएको र कोही–कसैले पछि शारीरिक सम्पर्क गर्नेजस्ता कुनै अनैतिक कार्य नगरेको स्वीकार गरेकी छिन् ।

युवतीले अबआइन्दा यसै विषयलाई लिएर कहीँ–कतै उजुरबाजुर नगर्ने र गरेमा कानुनबमोजिम कारबाही भोग्न तयार रहेको मिलापत्रमा सहीछाप गरेकी छिन् ।

युवतीकी आमालाई प्रभावमा पारियो
युवतीको आमालाई पीडक पक्षले प्रभावमा पारेको तथ्य खुलेको छ । युवतीले मिलापत्र गर्न मानिरहेकी थिइनन् । आमाको दबाबपछि युवती मिलापत्र गर्न बाध्य बनेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । ‘जाहेरी दर्ता भएलगत्तै दुवै पक्षलाई बोलाइयो ।

यही क्रममा पीडक पक्षले युवतीकी आमालाई प्रभावित पारेको देखिन्छ, युवतीलाई मिलापत्र गर्न दबाब दिएको देखिन्छ,’ उनले भने । घटनाको मिलापत्र दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको रोहबरमा गरिएको थियो ।

बलात्कृत युवतीको उजुरीलगत्तै ठकुरीकै रोहबरमा पीडित र पीडक पक्षबीच छलफल भएको थियो । युवतीले ८ माघमा वृत्तमा जाहेरी दिएकी थिइन् । जाहेरीमा प्रेमी भनिएका २४ वर्षीय शैलेस कार्कीसहित चारजनाले बलात्कार गरेको उल्लेख थियो ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);