‘गुरुदेव’ लाई सर्वोच्चमा सधैं झमेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘गुरुदेव’ लाई सर्वोच्चमा सधैं झमेला

sarbochha adalat

काठमाडौं, २२ माघ । उमेरले उनी ९१ वर्ष पुगे । कानुन व्यवसायीका सबैभन्दा पुराना गुरु रहेका कारण उनलाई अदालतमा सबैले ‘गुरुदेव’ भनेर चिन्छन् । उनको ‘नेपाल ल फर्म’ मा कानुन व्यवसाय सिकेका दर्जनौं व्यक्ति न्यायाधीश र चार जना त प्रधानन्यायाधीश नै भइसकेका छन् । उनी यो उमेरमा पनि लट्ठी टेकेर मुद्दाको बहस गर्न अझैसम्म सर्वोच्च अदालतमा पुग्छन् । सबैले ‘गुरुदेव’ भनेर आदर गर्ने उनै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रहरीले नचिनेर सर्वोच्चमा बारम्बार झमेलामा पार्छन् ।

सधैझैं आइतबार पनि भण्डारी सर्वोच्च अदालतको इजलास नम्बर ६ मा बहसका लागि लट्ठी टेकेर जाँदै गर्दा प्रहरीले रोक्यो । उनी दौरा–सुरुवालमा कालो कोट र ढाका टोपी पहिरिएर इजलास जाँदै थिए । न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आइतबार उनको मुद्दा थियो । जग्गाको ‘जालसाजी’ र ‘लिखत दर्ता बदर’ विवादमा उनी एउटा पक्षका वकिल हुन् । तर पुरानो भवनको पहिलो तलामा रहेको इजलास नपुग्दै प्रहरीले भर्‍याङमै रोक्यो । उनीसँगैका कालोकोटधारी कानुन व्यवसायी भने बेरोकतोक सरासर भर्‍याङ चढेर इजलास पुगे ।

प्रहरीले रोकेपछि भण्डारीले यत्तिका वर्ष वकालत गरेको ‘बूढो मान्छे’ लाई रोक्न खोज्ने भन्दै एकैछिन तात्तिए । हुन पनि भण्डारीले यो उमेरमा आइपुग्दा झन्डै ६५ वर्ष वकालत गरिसकेका छन् । एकैछिनको रोकावटपछि भण्डारी ६ नम्बर इजलास पुगे । त्यहाँ अरु मुद्दामा सुनुवाइ चलिरहेको थियो । भण्डारीले प्रहरी झमेलाप्रति आक्रोशित हुँदै इजलासमा पुगेर ‘ श्रीमान्’ को ध्यानाकर्षण गराए । मुद्दाको सुनुवाइ एकैछिन रोकियो । भण्डारीले भने, ‘ श्रीमान् तपाईंका मान्छे (प्रहरी) ले म बूढोलाई भर्‍याङमै रोके । सधैं रोकेर हैरानी गर्छन् । यसतर्फ ध्यान जाओस् ।’

श्रीमान्हरूले मुन्टो मात्र हल्लाए । बेञ्चबाट कुनै प्रतिक्रिया आएन । मुद्दाको पालो नआउने जानकारी पाएपछि भण्डारी फर्किए । प्रहरीले नचिनेका कारण उनले सर्वोच्चमा यस्तो हैरानी बारम्बार व्यहोर्नुपर्छ । भण्डारीले आफ्नी कानुन व्यवसायी छोरी सविता भण्डारी बरालसँग सर्वोच्चको इजलासमा जाँदा पनि आफूले दुःख पाएको गुनासो गरे । ‘छोरीसँग आउँदा पनि प्रहरीले उनलाई सरासर इजलासमा जान दिन्छन् तर मलाई सोधपुछ गरेर हैरान पार्छन् । अरु वकिललाई भने केही गर्र्दैनन्,’ उनले अन्नपूर्णसँग भने, ‘आज पनि त्यस्तै भयो । अरु सरासर गए, मलाई रोके । गरिब र बूढालाई प्रहरी पनि हेप्दा रहेछन्।’

भण्डारीलाई प्रहरीले रोकेको देखेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि चित्त दुखाए । भण्डारीको लट्ठी देखेर सुरक्षाकर्मी झस्किएको हुनसक्ने लख काट्छन् उनी । दाहालका अनुसार भण्डारी आइतबारै प्रहरीबाट दुईपल्ट रोकिएका थिए । ‘प्रहरीले उहाँलाई रोकेको देखेपछि सबैको सम्मानित व्यक्ति हो भनें । उहाँ प्रहरीसँग कराउँदै हुनुहुन्थ्यो । प्रहरीले सधैं कहाँ जान ला’को भने रोक्न खोज्छ,’ दाहालले भने, ‘कालोकोट लगाएको देखेपछि अनुमान पनि गर्नुपर्छ । उहाँ त सम्मानित र सबैभन्दा जेठो व्यक्ति हो । सर्वोच्चका सुरक्षा प्रमुखको ध्यान जाओस् ।’

यो खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);