प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका आठ न्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका आठ न्यायाधीश

Sarbocha-Adalat

काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पेसी तोकेका मुद्दा हेर्न सर्वोच्चका थप आठ न्यायाधीशले अस्वीकार गरेका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरूमध्ये तीनवटा इजलासका न्यायाधीशले पराजुलीले तोकेको बेन्च बहिष्कार गरेका हुन् ।

भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दीपकराज जोशीसहित आठ जना न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्ने निर्णय गरेका हुन् । वरिष्ठतम् न्यायाधीश जोशीसँगै न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा र विश्वम्भर श्रेष्ठले इजलाशमा मुद्दा हेरेनन् ।

सोमबार न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश पराजुली साउनमै अवकाश हुनुपर्नेमा बढी अवधि सर्वोच्चमा बसेको भन्दै सँगै इजलासमा नबस्ने घोषणा गरेपछि मंगलबार उनलाई कुनै पनि इजलास दिइएन । उनी सर्वोच्च अदालत भने हाजिर भएका थिए ।
न्यायाधीश राणाले इजलास बहिष्कार गरेपछि सोमबार प्रधानन्यायाधीश पराजुलीले राणाबाहेकका सबै न्यायाधीशसँग परामर्श गरेका थिए । त्यसक्रममा अधिकांश न्यायाधीशले पराजुलीलाई शैक्षिक प्रमाणपत्र र नागरिकताको विवादसम्बन्धी मुद्दा किनारा नभएसम्म न्यायिक प्रक्रियाबाट अलग रहन सुझाव दिएका थिए ।

तर, त्यसलाई अस्वीकार गर्दै पराजुलीले मंगलबार पुनः सर्वोच्च आई मुद्दाको पेसी तोकेपछि आठ जना न्यायाधीशले इजलास बहिष्कार गरेका थिए । पेसी तोकेकामध्ये न्यायाधीशहरू ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही, दीपककुमार कार्की, टंकबहादुर मोक्तान, केदारप्रसाद चालिसे, शारदप्रसाद घिमिरे, मीरा खड्का, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले भने मुद्दाको सुनुवाइ गरेका थिए ।

प्रधानन्याधीश पराजुलीबारे बार एसोसिएनका पदाधिकारीहरू पनि विभाजित भएका छन् । अध्यक्ष र महासचिवले विज्ञप्ति निकालेको २४ घण्टा नबित्दै बारका उपाध्यक्ष उषामल्ल पाठक, सदस्यहरू विष्णु बस्याल सदस्य कृष्ण आङ्दम्बेले मंगलबार विज्ञप्तिमार्फत सल्लाह नै नगरी बार अध्यक्ष र महासचिवले बहुमतका आधारमा एकपक्षीय निर्णय गरेको उल्लेख गरेका छन् ।

सल्लाहकारहरूको राय लिने परम्परालाई समेत लत्याई बहुमतका आडमा पक्षधरता लिई जारी गरिएको वक्तव्यले सुदृढ, सक्षम र स्वतन्त्र न्यायपालिकाको निर्माणमा प्रतिकूल असर पु¥याएको सो विज्ञप्तिमा जनाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले क्रमशः इजलास बहिष्कार गर्न थालेपछि प्रधानन्यायाधीश पराजुली भने बिदा बस्ने विषयमा छलफलमा जुटेका छन् । सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार आज (बुधबार) राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराएपछि बिदामा बस्ने विषयमा उनले नजिकका सहकर्मीसँग राय मागेका छन् । तर, बिदा बस्ने या नबस्ने विषयमा भने उनी निर्णयमा पुगिनसकेको ती न्यायाधीशले बताए ।

यसैबीच, सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश पराजुलीलाई विवादमा परेको भन्दै न्यायिक प्रक्रियाबाट अलग रहन सुझाएको छ । बारले विज्ञप्तिमार्फत प्रधानन्यायाधीश संलग्न बृहत् पूर्ण इजलास बहिष्कार गर्ने क्रममा न्यायाधीश चोलेन्द्रशमशेर जबराले तथ्यभन्दा बाहिर गएर असंवैधानिक आदेश गरेको निष्कर्षसमेत निकालेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);