परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्रीबीच परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बनाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्रीबीच परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बनाउने सहमति

काठमाडौं,१४ चैत्र । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमणको तेस्रो दिन परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलको वार्ता भएको छ ।

वार्तामा यसअघि दुई देशबीचका महत्वपूर्ण विषयहरुमा छलफल गर्नका लागि बनेको सचिवस्तरको संयन्त्रलाई अब परराष्ट्र मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा गठान भएको संयन्त्र अब मन्त्री स्तरको हुने छ ।

अर्को छिमेकी मुलुक भारतसँग यस्तो संयन्त्र मन्त्रीस्तरीय नै छ । त्यस्तै नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी पनि भएको छ । वार्तामा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन जाने नेपाली नागरिकलाई प्रवेशाज्ञा निशुल्क गर्न चीन सकारात्मक भएको र चाँडै नै कार्यान्वयनमा लैजाने बताउनु भएको छ ।

त्यस्तै नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई छिटो अघि बढाउने, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने पनि समझदारी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा चिनियाँ विदेशमन्त्री वाङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिवद्धताको सरहाना गर्दै आगामी दिनमा पनि नेपालको प्रतिबद्धता अटुट रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले चिनियाँ विदेश मन्त्री वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको बताइएको छ । विदेशमन्त्री वाङले यही वर्ष नै नेपाल भ्रमण गर्ने विश्वास दिलाउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);