जाजरकोटमा भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जाजरकोटमा भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

viral-joro

काठमाडौं,२७ पुष । जाजरकोटमा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

थप तीन जनाको मृत्यु भएको छ । मंगलबार एक जना र बुधबार थप तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको छ । त्यस्तै जुनीचाँदे –५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको ज्यान गएको हो । उनीहरु दुवैको उपचार अभावमा मृत्यु भएको हो । भण्डारी शिविरमा आएर पनि राम्रो उपचार नपाएपछि निजी मेडिकलमा गएको र त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुक तिर लाग्नु भएको थियो ।

केही वर्ष पहिले नै श्रीमान गुमाइसकेकी कालुको आर्थिक अवस्था निकै कमजोर रहेको थियो । सानो झुप्रोमा बस्ने उहाँ न्यानो कपडा नहुँदा केही दिनदेखि चिसोले थलिनु भएको थियो । रुघाखोकी र ज्वरो पनि आएको थियो समयमा उपचार नपाएपछि उहाँको मृत्यु हुन पुगेको जुनीचाँदेका स्थानीय बासिन्दा गोपाल गिरीले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्ष मुनिका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् ।

जुनीचाँदेको वडा नम्वर २ मजकोटबाट सुरु भएको भाइरलको प्रकोप केही समयपछि वडा नम्बर १ र ३ मा फैलिएको थियो । अहिले वडा नम्बर ४ कोर्ताङ्ग , वडा नम्बर ५ गर्खाकोट र वडा नम्बर १० सम्म प्रकोप फैलिएको छ । शनिबारदेखि थालिएको शिविरमा झण्डै एक हजार दुई सय जनाको उपचार भैसकेको छ । तर अझै रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको उपचारमा संलग्न डा. शाक्यको भनाई छ । उपचार भैरहे पनि दिनदिनै बिरामी भने बढ्दै गएका छन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत नेपालीले जाजरकोटमा फैलिएको भाइरल ‘आउट ब्रेक’ भएको भन्दै सबै सरोकारवालालाई उपचारमा सघाउन अपील गर्नु भएको छ । पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र एक गाँउबाट अर्को गाँउमा रोग फैलिदै गएकोले नियन्त्रणबाहिर जान थालेको वताउनुभयो ।

बुधबारदेखि ६ वटा टोलीले उपचार थालेको उहाँले जानकारी दिनुभयो, ‘धेरै बालबालिका बिरामी भएकोले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोलाइएका एक जना बालरोग विशेषज्ञ डा. नम्रताको नेतृत्वमा एक टोली बुधबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।’ त्यस्तै औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको बफर स्टक राख्ने तयारी भएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य मातहतका कुनै पनि स्वास्थ्यकर्मीलाई बिदा वा काजमा बस्न नदिने निर्णय समेत गरिएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले जानकारी दिनुभयो ।

बुधबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ । चिकित्सकको नेतृत्वमा प्रभावित क्षेत्रका वडा नम्बर २ स्थित भैरव मावि मजकोट, वडा नम्बर ३ स्थित आर्दश मावि लुहादह र वडा नम्बर १० स्थित दुर्गापुजन प्राविमा शिविर संचालन गर्ने र अर्को एक टोलीलाई घुम्ती टोलीको रुपमा परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो । उहाँले चार वर्ष मुनिका बालबालिकालाई न्यानो कपडा र थर्मसको व्यवस्था गर्नका लागि विभिन्न गैरसरकारी संघ संस्थालाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);