काभा महिला भलिबल कप आजदेखि, ह्याट्रिकको लक्ष्यमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काभा महिला भलिबल कप आजदेखि, ह्याट्रिकको लक्ष्यमा नेपाल

काठमाडौं, ८ जेठ । नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताउनुभएको छ । नेपाल भलिबल संघले आईतवार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताउनुभएको हो ।

उहाँले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिको अवसर भएको बताउनु भयो । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । सोमवारबाट आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।

नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् । १४ गते सम्म चल्ने प्रतियोगितामा आयोजना हुन पूर्वको पत्रकार सम्मेलनमा अन्य देशका कप्तानले पनि कम्तीमा पनि मेडलका लागि प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताका लागि नेपाली टोली तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरेको छ । टोलीलाई बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले प्रशिक्षण दिइरहेका छन् । प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।

नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);