मन्त्री फेरबदलमै बित्यो ‘प्रचण्ड’का साढे चार महिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मन्त्री फेरबदलमै बित्यो ‘प्रचण्ड’का साढे चार महिना

सरकारमा प्रधानमन्त्रीसहित २१ मन्त्री र २ राज्यमन्त्री

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।

प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गर्नुभयो भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नुभयो । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिनुभयो । उहाँले १०औंपटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गर्नुभयो । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री भएका छन् भने गठबन्धनका बाँकी दलहरूबाट १४ जना मन्त्री भएका छन् । १० औंपटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारले पूर्णता भने पाउन सकेको छैन । वन तथा वातावरण मन्त्रालय अझै प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको छ ।

नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर पुष १० मा नेकपा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले फागुन १० मा पुनः गठबन्धन परिवर्तन गर्नुभयो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै फेरि कांग्रेससहित आठ दलको समर्थन जुटाएर दोस्रोपटक संसदबाट विश्वासको मत हासिल गरेसँगै एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिर बस्न बाध्य भएका थिए ।

प्रचण्डले पहिलोपल्ट पुस ११ मा मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक माघ ३ मा तेस्रोपटक माघ १४, चौथोपटक माघ २३, पाँचौंपटक फागुन १४ र छैटौंपटक फागुन १६, सातांैपटक चैत्र १७, आठौंपटक वैशाख ३ , वैशाख २० मा नवौंपटक र वैशाख २४ मा १०औंपटक मन्त्रिपरिषद् विस्तार गर्नुभयो ।

यस बीचमा प्रधानमन्त्री प्रचण्डले एमालेका ९, रास्वपा ४, राप्रपाका ३ र जनमत पार्टीका १ गरी १७ मन्त्रीको राजीनामा स्वीकृत गर्नुभभयो । साढे चार महिनाको बीचमा प्रधानमन्त्रीले ३८ जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ । यसरी हेर्दा उहाँको एक सय ३५ दिनको उपलब्धि मन्त्री नियुक्ति, अवकास र सत्ता गठबन्धन फेरबदलमै खर्च भएको देखिएको छ । यसका अलवा उहाँले दर्जनौं संघसंस्थाका विभिन्न कार्यक्रमहरू उद्घाटन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र उपनिर्वाचनमा समय खर्च गर्नुभएको छ ।

प्रधानमन्त्री नियुक्ति भएलगत्तै आफ्नो कार्यकाल जनसरोकारकै विषयमा जोड दिएर देश र जनताकै लागि काम गर्ने उद्घोषण गरेका प्रचण्डले टालटुले काममै समय बिताएको भनेर आलोचना शुरू भएको छ ।

मंसिरको आम निर्वाचनपछि प्रचण्डले सत्ता जोडघटाउ, गठबन्धन र सरकार फेरबदलको खेलमै बिताएको प्रमुख प्रतिपक्ष दल ९एमाले०को आरोप छ । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप लगाउँदै भन्नुभयो– ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरू मात्र भए । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’ सरकारको जोड घटाउमा अल्मलिएर चार महिना बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन नसक्ने सरकारबाट जनताले केही अपेक्षा गर्न नसकिने एमालेका सांसदहरूको भनाइ छ ।

सरकारमा प्रधानमन्त्रीसहित २१ मन्त्री र २ राज्यमन्त्री

प्रधानमन्त्री र वन तथा वातावरण – पुष्पकमल दाहाल ‘प्रचण्ड’
उपप्रधान तथा रक्षा – पूर्णबहादूर खड्का
उपप्रधान तथा गृह – नारायणकाजी श्रेष्ठ
कृषि तथा पशुपंक्षी विकास– डा। वेदूराम भुसाल
कानुन, न्याय तथा संसदीय मामिला– धनराज गुरूङ
शिक्षा, विज्ञान तथा प्रविधि – अशोककुमार राई
श्रम, रोजगार तथा सामाजिक सुरक्षा– शरतसिंह भण्डारी
अर्थ– डा। प्रकाशशरण महत
खानेपानी – महिन्द्र राय यादव
ऊर्जा, जलस्रोत तथा सिँचाई – शक्तिबहादूर बस्नेत
परराष्ट्र – नारायण प्रकाश साउद
सञ्चार तथा सूचना प्रविधि –रेखा शर्मा
स्वास्थ्य तथा जनसङ्ख्या – मोहनबहादूर बस्नेत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन – सुदन किराती
संघीय मामिला तथा सामान्य प्रशासन– अमनलाल मोदी
भौतिक पूर्वाधार तथा यातायात –प्रकाश ज्वाला
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण – रञ्जिता श्रेष्ठ
उद्योग, वाणिज्य तथा आपूर्ति – रमेश रिजाल
सहरी विकास – सिता गुरूङ
युवा तथा खेलकुद – डिगबहादूर लिम्बु
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक– सुरेन्द्रराज आचार्य
राज्यमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन –सुशिला सिर्पाली ठकुरी
भौतिक पूर्वाधार तथा यातायात– नन्दा चपाई
समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);