कठ्यांग्रिए विपन्न समुदाय : एक सातामा ९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कठ्यांग्रिए विपन्न समुदाय : एक सातामा ९ को मृत्यु

काठमाडौँ, २२ पुष । शीतलहर लम्बिँदै जाँदा तराईका विपन्न बासिन्दाको दैनिकी थप कष्टकर बन्दै छ । न्यानो लुगा अभावमा कठ्यांग्रिएर ज्यान गुमाउनुपर्ने नियति यसपालि पनि हटेन । चिसोकै कारण सातायता सप्तरी र रौतहटमा गरी ९ जनाले ज्यान गुमाइसकेका छन् ।

चिसो नघट्दा सप्तरीका विपन्न समुदाय संकटमा छन् । दैनिक मजदुरी गरेर परिवार धान्दै आएका उनीहरू शीतलहर नथामिएपछि बस्तीमै अड्किएका छन् । बिरामीको संख्या दिनहुँ बढ्दै छ । चिसोले बिहीबार र शुक्रबार गरी थप तीन जनाको मृत्यु भएको छ ।

महदेवा गाउँपालिका–२ अकबरपुरका ५८ वर्षीय सुकदेव यादव शुक्रबार बिहान नहर किनारमा शौच गर्ने क्रममै कठ्यांग्रिएर ढले । उपचारका लागि अस्पताल लैजाँदा–लैजाँदै उनको बाटैमा मृत्यु भएको स्थानीय रामदेव यादवले जानकारी दिए । सुकदेव जिल्ला मालपोत कार्यालयमा दैनिक टिकट बिक्री गरेर गुजारा चलाउँथे । चिसोले सदरमुकाम राजविराजमा पनि २ जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१० झल्हीकी ६५ वर्षीय कैलीदेवी खंगको कठ्यांग्रिएर ज्यान गएको मेयर शम्भु यादवले जानकारी दिए । ‘आर्थिक रूपले विपन्न खंग परिवारसँग जाडो छल्न न्यानो कपडा रहेनछ,’ उनले भने । वडा नम्बर २ मा पनि ६० वर्षीय नाजो बेगमको कठ्यांग्रिएर मृत्यु भएको वडाध्यक्ष अरुण यादवले जानकारी दिए ।

जिल्लामा सातायता मात्र कठ्यांग्रिएर ६ जनाले ज्यान गुमाइसकेका छन् ।यसअघि पुस १७ गते छिन्नमस्ता गाउँपालिका–१ बरहीपुरका ३६ वर्षीय कुलदीप यादवले चिसोकै कारण ज्यान गुमाए । ‘पातलो लुगा लगाएर रिक्सामा राजविराजतिर जाँदै थियो, कठ्यांग्रिएर रिक्सामै ढलेछ,’ पिता जोगवीर यादवले भने, ‘छोराको मलामी जानुपर्ने हामीजस्तो अभागी को होला ?’ कुलदीपको निधनपछि नाबालक छोराछोरी, पत्नी र आमाबुबाको बिचल्ली भएको छ । घरमाओढ्न/ओछ्याउने र लगाउने न्यानो कपडा नरहेको जोगवीरको दुखेसो छ । सोही टोलका ३५ वर्षीय रामदयाल यादवको पनि चिसोले ज्यान गयो । उनका पिता ८० वर्षीय ढकाई रामको आँखाबाट आँसु रोकिएको छैन । पत्नी साबित्री अझै अर्धचेत छिन् । चार दिनअघि नजिकैको बाँसघारीमा शौच गर्न गएका रामदयालको त्यहीं कठ्यांग्रिएर मृत्यु भएको पिताले बताए । छिन्नमस्ता गाउँपालिका–१ की ७२ वर्षीया रजियादेवीको पनि मृत्यु भएको छ । ‘गरिब भएकैले आमालाई जोगाउन सकिनँ,’ छोरा राम अवतारले भने, ‘बिहान–बेलुका छाक टार्नै मुस्किल पर्छ, कहाँबाट किन्नु र न्यानो लुगा ?’ विपन्न समुदायलाई न्यानो कपडा व्यवस्था गर्न प्रयास थालिए पनि बजेट अभावले समस्या परेको छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्ष विनोदकुमार यादवले बताए ।

रौतहटमा पनि जाडोकै कारण पाँच दिनयता ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै विपन्न परिवारका छन् । गढीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हाजामा, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा कार्यरत सर्लाहीका मजदुर नेक महम्मद अलीको कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाजामको १७ गते तथा यादव र अलीको १९ गते मृत्यु भएको हो ।

यो खबर आज को कान्तिपुर दैनिक मा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);