कठ्यांग्रिएर थप तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कठ्यांग्रिएर थप तीनको मृत्यु

राजविराज,२७ पुष । दस दिनयता बढेको चिसोका कारण कठ्यांग्रिएर सप्तरी र रौतहटमा बुधबार थप ३ को मृत्यु भएको छ । बुधबार बिहान सप्तरीको कञ्चनरूप–९ का ४२ वर्षीय जडौली सदाको कठयांग्रिएर मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिए । यो समेत पछिल्ला १० दिनमा जिल्लामा जाडोका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यस्तै, रौतहटमा पनि चिसोले कठ्यांग्रिएर बुधबार थप दुई जनाको मृत्यु भएको छ । परोहा नगरपालिका–९ रामपुरखाप बस्ने ६० वर्षीय रामलगनप्रसाद पटेल र गौर नगरपालिका ४ टिकुलियाकी ७० वर्षीया सियादेवीको मृत्यु भएको हो । उनीहरूको कठ्यांग्रिएरै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटमा पनि जाडोकै कारण मर्नेको संख्या ११ पुगेको छ । अधिकांश विपन्न, दलित, गरिब परिवारका सदस्य तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् । कतिपयका घरमा न्यानो कपडा छैन भने कतिपयमा चेतना अभाव देखिन्छ । टिनको छानोबाट शीत चुहिने भएकाले घरभित्रै बस्न अप्ठ्यारो परेको उनीहरूको गुनासो छ ।

सप्तरीमा सोमबार र मंगलबार केहीबेर घाम लागे पनि बुधबार बिहानैबाट बाक्लो हुस्सु र शीतलहरले घेरेको छ । चिसो हावा अत्यधिक चलेकाले स्थानीयलाई घरबाहिर निस्कनसमेत मुस्किल पर्‍यो । ‘जतिसुकै कपडा लगाए पनि थरथर कमाउने जाडो छ,’ तिलाठी कोइलाडी–८ का वडा सदस्य शिवनारायण मण्डलले भने, ‘दलित र विपन्न बस्तीमा बिजोग छ ।’ मजदुरी गरेर गुजारा गर्नेहरूका लागि जाडो अभिशाप भएर आएको मण्डलले बताए ।

‘न कतै रोजगारी पाइन्छ न त आफैं घरबाट निस्कन सकिन्छ,’ कोइलाडीका राम सदाले भने । चिसो बढेपछि सदरमुकाम राजविराजका अधिकांश पसल बन्द छन् । ‘चिसो हावाका कारण पसलमा बसिसक्ने अवस्था छैन,’ राजविराजस्थित मारुती मेडिकल हलका सञ्चालक ललन झाले भने, ‘हाडै कपाउने जाडो छ ।’

नगरपालिकाले वन कार्यालयसँगको समन्वयमा स्थानीयलाई चिसोबाट जोगाउन राजविराजका विभिन्न स्थानमा आगो बाल्ने गरेको छ । तर, चिसो हावा अत्यधिक चलिरहेकाले आगो ताप्न पनि समस्या नै छ । सडकमा सवारीसाधन निकै कम छन् । चिसो नघटदा रौतहट सदरमुकाम गौरलगायत जिल्लाभरिकै जनजीवन प्रभावित छ । दलित बस्ती, वृद्धवृद्धा, बालबालिका, विपन्न वर्गका परिवारलाई बढी कष्ट छ ।आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);