शीतलहरले तराईमा २३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शीतलहरले तराईमा २३ को मृत्यु

sitlahar

काठमाडौं, २४ पुष । १० पुसदेखि तराईमा नियमितजसो हुस्सु
सप्तरीमा १४ को मृत्यु
शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनरूप नगरपालिका–४ का ललित चौधरीका सातमहिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय मुसहरू चौधरी, डाँकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउपालिका–४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी–कोइलाडी गाउँपालिका–७ का ३५ वर्षीय शिव मण्डलको जाडोको कारण मृत्यु भएको थियो ।

प्रहरीका अनुसार महदेवा गाउँपालिका–२ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान घरनजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको थियो । शुक्रबारै तिलाठी–कोइलाडी गाउँपालिका–२ का ५५ वर्षीय सुजन ठाकुरको कठ्यांग्रिएर घरमै मृत्यु भयो । त्यसअघि बिहीबार राजविराज नगरपालिका–१० की ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका–२ की ६० वर्षीया नाजो वेगमको जाडोबाटै मृत्यु भएको वडाध्यक्ष अरुण यादवले बताए ।
यस्तै, छिन्नमस्ता गाउपालिका–१ वीरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको छ । सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुव भट्टराईले पोस्टमार्टम गराउन नसक्दा सबै मृतकको रेकर्ड राख्न नसकेको बताए । शीतलहरबाट मृत्यु भएको अवस्थामा अस्पताल लगेर पोस्टमार्टम गराए मात्रै सरकारी रेकर्डमा उल्लेख हुने नियम छ ।

रौतहटमा पाँचको मृत्यु
रौतहटमा जाडोले कठ्यांग्रिएर मर्नेको संख्या पाँच पुगेको छ । शनिबार राति परोहा नगरपालिका–२ जिगडवाका ४५ वर्षीय शेख समिम र रामपुरखापकी ६५ वर्षीया मरठियादेवी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए । गत शुक्रबार राति राजदेवी नगरपालिका–७ का ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ को इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलीको मृत्यु भएको थियो । यस्तै, गत साता गढीमाई नगरपालिका–४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।

तराईमा १० पुसदेखि निरन्तर कुहिरो र बाक्लो हुस्सु लाग्दै आएको छ । कहिले घामै नलाग्ने र दिउँसो लागे पनि मधुरो हुने गरेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बन्दैै गएको छ । अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन् । ‘तराईमा एक हप्तासम्म घाम नलागेको रेकर्ड छ,’ मौसमविद् वरुण पौडेलले भने, ‘तर, यस वर्ष निरन्तर हप्ता दिनसम्म हुस्सु लाग्ने सम्भावना छैन ।’ जाडो मौसम भएकाले केही दिनपछि बिहान हुस्सु लागे पनि दिउँसो सफा भई घाम लाग्ने उनले बताए । तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो खालको एउटै हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्हरूको भनाइ छ ।

तराईमा हुस्सु लाग्दा उडान प्रभावित
प्रतिकूल मौसमका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित भयो । आन्तरिक उडानतर्फ अधिकांश क्षेत्रको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार आइतबार धनगढीमा एउटा पनि उडान हुन सकेन । अन्य गन्तव्यमा भने फाट्टफुट्ट उडान सम्भव भयो । काठमाडौंको मौसम सफा रहेका कारण अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । जाडो मौसममा तराईमा बाक्लो हुस्सु लाग्दा त्यस क्षेत्रमा अवस्थित विमानस्थलमा उडान–अवतरण बढी प्रभावित हुने गरेको हो ।

उपत्यकामा तीन वर्षयताकै चिसो
उपत्यकामा तीन वर्षयताकै चिसो महसुस भएको छ । सन् २०१५ मा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियससम्म पुगेको थियो । तीन वर्षपछि पुनः उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको हो । गत वर्ष उपत्यकामा न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म पुगेको थियो । उपत्यकामा सन् १९७८ मा न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको इतिहास छ ।

सिरहामा चिसो अत्यधिक बढेपछि एक साताका लागि सामुदायिक विद्यालय बन्द गरिएका छन् । निजी विद्यालय भने परीक्षा चलिरहेकाले बन्द गरिएका छैनन् ।
धनुषामा आगो ताप्ने क्रममा जलेर मिथिलाबिहारी नगरपालिका–७ की गीतादेवी दास र कलना नगरपालिका–९ की श्यामादेवी मण्डलको मृत्यु भएको छ । चार दिनदेखि धनुषामा घाम लागेको छैन । जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ ।
सर्लाहीमा चिसोले कठ्यांग्रिएर ईश्वरपुर नगरपालिका–८ का ४५ वर्षीय वृक्षु माझी पासवानको मृत्यु भएको छ । शनिबार राति सुतेका उनी मृत अवस्थामा फेला परेका हुन् । जाडो बढेपछि स्थानीय तहले विभिन्न ठाउँमा आगो ताप्न दाउरा वितरण गरिरहेको छ ।
पर्सा वीरगन्जमा चिसो बढेपछि आइतबारदेखि चार दिनका लागि विद्यालय बन्द गरिएका छन् । आइतबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ ।

रुपन्देहीमा चिसोले शनिबार बुटवलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा दुई सातादेखि घाम लागेको छैन । शीतलहर र बाक्लो हुस्सुले चिसो अत्यधिक बढेको छ ।
मोरङमा सामुदायिक विद्यालय एक साताका लागि बन्द गरिएका छन् । जनजीवन कष्टकर बनेको छ ।
झापामा एक सातादेखि घाम लागेको छैन । चिसो अत्यधिक बढेको छ । विभिन्न संघसंस्थाले आगो ताप्न दाउरा वितरण गरेका छन् ।
कैलालीमा पुस मसान्तसम्म विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले बताए ।आजको नयां पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);