संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन्ः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८०, मंगलबार

संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन्ः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘आयोगहरुलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याई गर्न हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरुले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरु, परिभाषित कामहरुलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरु रचनात्मक हिसावले लाग्नु हुुन्छ । त्यसको औचित्य त्यतिनै पुष्टि हुन्छ । सबै आयोगहरुका लागि त्यही नै हो । र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनु भएको छ । ती बस्तीहरुमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन् । आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन । जसरी मुस्लिम आयोगका बारेमा अन्तरिम संविधानमा पनि कुनै कुरा लेखिएन । त्यसपछि यसलाई आयोगको रुपमा राख्नुपर्छ भनेर आन्दोलन भयो । त्यो आन्दोलन गर्ने अगुवाहरु मध्येकै माननीय समिम मियाँ अन्सारी त्यो अगुवाई गर्ने मध्येको प्रमुख एक जना हुनुहुन्छ । अरु पनि लाग्नु भएको छ । तर उहाँ पनि लाग्नु भयो । सायद त्यही कुरालाई कदर गर्दै त्यसैको मक्सद पुरा होस भनेर उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हुनु पर्छ । यस्तो दिन हामीले ल्याउन सकौं–कि हाम्रो मुस्लिम समुदाय, मधेशी समूदाय, थारु समुदाय, जनजाति वा कुनै पनि समुदाय अव कुनै आरक्षण, कुनै संरक्षणको अव जरुरी छैन नेपालमा । हामी एकसेएक सबै ठाउँमा प्रतिस्पर्धा गर्न सक्षम भयौ । अव यी आयोग जरुरी छैन भन्ने घोषणा गर्ने बनाउने हो । यो अनन्त कालसम्म आयोग रहनुपर्छ भन्ने मानसिकता भयो भने त्यहाँ विभेद छ भन्ने बुझनु पर्छ । र, त्यो सक्षम भएको रहेनछ भनेर बुझ्नु पर्दछ ।’

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराउनु भयो । उहाँले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याई नगर्न सरकारको समेत ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply