तीन कम्युनिस्ट विद्यार्थी संगठनबीच सहकार्य हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन कम्युनिस्ट विद्यार्थी संगठनबीच सहकार्य हुँदै

काठमाडौं, २३ फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकटका विद्यार्थी सङगठनबीच सहकार्य गर्ने विषयमा आइतबार बैठक बसेको थियो । बैठकमा मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा संयुक्त प्यानल खडा गरी मनोनयन गरिसकेको अवस्थामा त्रिविमा पनि तीनवटै संगठनबीच सहमति गर्ने सम्भावना रहेको छ ।

एकिकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेस पराजुलीले मध्यपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहमति भइसकेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सोही आधारमा अब चैत ५ गते हुन लागेको त्रिवि र ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयमा तीन संगठनबीच सहकार्य गर्नेछौं ।’

यसअघि सरकारआवद्ध आठ विद्यार्थी संगठनबीच सहकार्य गर्ने सहमति भएको थियो । सहमतिअनुसार संयुक्त प्यानल बनाउने निर्णय भएको थियो । तर, राजधानीलगायत देशैभरका अधिकांश क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघले आफ्नै उम्मेदवार खडा गर्ने बताएपछि सरकारआबद्ध आठ संगठनबीचको सहमति भाडिएको थियो ।

यसअघि आठ विद्यार्थी संगठनले एमाले निकट अनेरास्ववियुको विरुद्धमा सबै एक भएर जाने निर्णय गरेका थिए । पछि उपत्यकाको क्याम्पसमा पद बाँडफाँट गर्ने विषयमा सहमति हुन नसकेपछि कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरू एक भएका हुन् । एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले तीन संगठनबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘हामी तीन संगठनबीच बैठक भएको थियो । बैठकले कसरी सहमति गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।’ उहाँका अनुसार सकभर मिलेर जाने नभए एक्लै प्रतिष्पर्धा गर्ने विषयमा कुराकानी भइरहेको छ । नेविसंघमा संस्थापन र संस्थापनइतर समूहबीच आन्तरिक कलहको कारण सरकारआबद्ध विद्यार्थी संगठनबीच सहकार्य गरेर जाने सम्भावना न्यून देखिएको छ ।

त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीमा पनि आन्तरिक कलह बढ्दै गएको छ । तैपनि तीन विद्यार्थी संगठनबीच मिलेर निर्वाचनमा होमिने विषयमा छलफल भइरहेको छ । यही २७ गते उम्मेदवारी मनोनयन गर्ने दिनसम्ममा सबै विषयको टुङ्गो लाग्ने विद्यार्थी संगठनको भनाइ छ । यस विषयमा नेविसंघ र अनेरास्ववियु९ क्रान्तिकारी०का अध्यक्षसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तीन विद्यार्थी संगठनबीच संयुक्त वा एक्लै निर्वाचनमा होमिने विषयमा फागुन २७ मा मात्र जानकारी हुनेछ । यसअघि यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराइसकेका छन् । ती विद्यार्थी संगठनले छुट्टाछुट्टै संगठनको नाम दर्ता गराएका हुन । निर्वाचन अघि सबै विद्यार्थी संगठनले एकल र आन्तरिक रूपमा छलफल चलाइरहेका छन् ।

पार्टीलाई चलायमान बनाउन विद्यार्थी संगठनको भूमिकाप्रति पार्टीले समेत चासो देखाएको छ । सबै क्याम्पसको निर्वाचनमा पार्टीको समन्वयनमा मात्र विद्यार्थीले मनोनयन दर्ता गर्ने तयारी छ ।

आगामी चैत ५ गते देशभरिका त्रिविका ६० आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । कार्यतालिकाअनुसार फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदान समय तोकिएको तोकिएको छ ।

त्रिविमा मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन हुनेछ । निर्वाचनमा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने छन् । त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीबाट निर्वाचन गर्न थालेको हो । स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५१ फागुन २८ गते वा सोभन्दा पछिको जन्ममिति भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउनेछन् । निर्वाचनमा स्ववियु कमिटीमा अध्यक्ष, सचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष प्रणालीअनुसार निर्वाचन हुनेछ । त्यसमध्ये उपाध्यक्ष र सहायक सचिव समानुपातिक प्रणालीबाट निर्वाचित भएका सदस्यहरूबाट मनोनित गरिनेछ । स्ववियु कमिटी ११ देखि २१ जनासम्मको हुनेछ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);