प्रचण्डले लिए ओलीमाथि बदला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डले लिए ओलीमाथि बदला

काठमाडौं, १२ फागुन । अन्ततः सत्ता गठबन्धन टुटेको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले विपक्षी गठबन्धनको नेपाली काँग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन टुटेको हो ।

शुक्रवार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको काँग्रेस, माओवादीसहित आठ दलले राष्ट्रपति निर्वाचनसम्बन्धी नयाँ निर्णय लिएको बैठकमा सहभागी काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा सत्ता गठबन्धनका माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी थिए । विपक्षी गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरेका थिए । त्यसमा सबै दलहरु सहमत भएको नेकपा एसका नेता प्रकाश ज्वालाले जानकारी दिए । प्रचण्डले बैठकमै आजबाट नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका थिए । उनले एमालेसँगको गठबन्धन टुटेको समेत खुलाएका थिए ।

सत्ता गठबन्धनको एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी भने फरक धारमा उभिएका छन् । एमाले अब सरकारमा अलग हुने तयारीमा पुगेको छ । एमाले नेता पृथ्वी सुब्बा गुरुङले यसबारे शनिबार निर्णय लिने जानकारी दिए ।

यसअघि प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने प्रस्ताव ओलीसँग गरेका थिए । तर, ओलीले विगतमा आफूसँग भएको सहमतिबाट टसमस नहुने जवाफ दिएका थिए । त्यसपछि प्रचण्डले बालुवाटारमा बैठक डाकी राष्ट्रपतिको टुंगो लगाएका थिए ।

राष्ट्रपतिमा काँग्रेसको उम्मेदवार हुने निश्चित भएसँगै व्यक्तिबारे भोलि नै टुंगो लाग्ने भएको छ । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक बसी निर्णय लिने जानकारी दिए । काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रबल सम्भावना छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि दाबेदार छन् ।

प्रचण्डले ओलीलाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने १० पुसमा गरेको प्रतिवद्धता तोडिदिए । उनले योसँगै बदला पनि लिएका छन् । यसअघिको प्रतिनिधि सभामा नेकपा एमाले र माओवादी केन्द्र एक भई नेकपा बन्दा दुवै नेता आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, ओलीले आफू आधा कार्यकाल प्रधानमन्त्री बनेपछि प्रचण्डलाई सत्ता छाड्न अस्वीकार गरेका थिए । यही विवादले नेकपा फुट्यो । यसपटक प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाउन साथ दिएपनि प्रतिवद्धता नै तोडेर विगतको बदला लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);