‘नेपाललाई गरेको प्रस्ताव एमालेको नयाँ ढोक्सो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘नेपाललाई गरेको प्रस्ताव एमालेको नयाँ ढोक्सो’

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपतिका लागि माधवकुमार नेपाललाई प्रस्ताव गरेको भन्ने विषयलाई नेकपा (एकीकृत समाजवादी)ले एमालेको नयाँ ‘ढोक्सो’को संज्ञा दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समाजवादी पार्टीका अध्यक्ष मावधकुमार नेपालको छलफल नभएको जिकिर गर्दै एकीकृत समाजवादीले सत्ता साझेदार र प्रतिपक्षी दलसमेत मिलेर एमालेलाई राष्ट्रपति नदिने भएपछि ओलीले नयाँ ‘ढोक्सो’ थाप्नुभएकोे टिप्पणी गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति नहुने भएपछि उनी आफैंले थापेको नयाँ ढोक्सो हो । ओलीले खटपटी चलेपछि केही नभेटेर प्रचार गरेका मात्रै हुन् । माधव नेपाललाई ओलीले राष्ट्रपतिको प्रस्ताव गर्नुहुन्छ भन्ने मैले एक प्रतिशत पनि विश्वास गर्न सक्दिनँ ।’ ओलीले साच्चै प्रस्ताव गरेको भए अध्यक्ष नेपालले पार्टीको बैठकमा छलफल गराउनुपर्ने जिकिर गर्दै उहाँले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भनिएको छलफल हल्ला मात्रै भएको दावी गर्नुभयो ।
नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव गरेको विषयमा खतिवडाले एमालेले एकीकृत समाजवादीलाई पार्टी नै स्वीकार नगरेको भन्दै एमालेले पार्टी एकताको प्रस्ताव नगरेको दाबीसमेत गर्नुभयो ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा संसद्मा सहभागी राजनीतिक दलहरूलाई उम्मेदवार व्यवस्थापन र अन्तरदलीय सहकार्यको चटारोले छोपेको छ । खास गरी सत्ता समीकरणमा सहभागी दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा निर्वाचनको चटारो देखिएको हो । सत्ता साझेदार दलहरू राष्ट्रपति निर्वाचनका सन्दर्भमा एक ठाउँ रहन नसक्ने करिब पक्काजस्तै भएपछि सम्भावित साना दलहरूलाई आफ्नो पक्षमा तान्ने कोसिसमा शीर्ष नेताहरू लागेका छन् ।

विगतदेखि नै साझा सहमतिको राष्ट्रपतिको एजेन्डा लिएर अघि बढेको सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले एमालेलाई राष्ट्रपति दिन नसकिने बताएपछि एमालेमा छटपटी बढेको छ । पार्टीभित्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न नसकेको एमालेलाई गठबन्धन बनाएर प्रधानमन्त्री जिम्मा लगाएकै दल माओवादीले सहयोग नगर्ने संकेत गरेसँगै एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपति हुन प्रस्ताव गर्नुभएको समाचार बाहिरिएको थियो । एकीकृत समाजवादीले राष्ट्रपति आफ्ूले लिने विषयमा भने एमाले बाहेकका सबै दलहरूसँग संवाद गरिरहेको जनाएको छ ।

राष्ट्रपति बन्नेबारे सोचेको छैन : माधवकुमार नेपाल
यसैबीच मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंले आफू राष्ट्रपति बन्नेबारे नसोचेको बताउनुभएको छ । उहाँले दाङ पुगेर मिडियामा आएका सबै कुरा सत्य नहुने टिप्पणी गर्दै भन्नुभयो– ‘मैले नै आफू के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन ।’ एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रस्ताव गरेको भन्ने विषयमा नेपालले भन्नुभयो– ‘प्रेसमा आएका कुराहरू सबै सत्य नै हुन्छन् भन्ने छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दाभित्र नै रहन दिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’

नेपालले राष्ट्रपतिका लागि चाहना राख्ने बेग्लै कुरा भएको तर शक्ति बाँडफाँटमा आफ्ना पार्टीको भूमिका हुनुपर्ने धारणा राख्दै भन्नुभयो– ‘हामी अरूका निम्ति मात्रै सधैं बलिदान हुने, अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’ उहाँले राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेस र माओवादी केन्द्रसँग आफूहरूको कुराकानी भएको बताउनुभयो । त्यति बेला आफूहरूले केही नामहरू अघि सारेको भन्दै नेपालले त्यस बेला कांग्रेस–माओवादी सहमत रहेको समेत बताउनुभयो । समाचारपत्रबाट

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);