प्रचण्डको इमानदारितामाथि प्रश्न उठाउँदै ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डको इमानदारितामाथि प्रश्न उठाउँदै ओली

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इमानदारितामाथि प्रश्न उठाउनुभएको छ ।

बुधबार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रचण्डको इमान्दारीतामाथि प्रश्न उठाउनुभएको हो । ओली निकट एमाले नेता विशाल भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उहाँले गठबन्धनप्रति तपाईंको इमानदारिता छ कि छैन भन्दै प्रष्ट पार्न प्रचण्डलाई आग्रह गर्नुभएको छ । अध्यक्ष कमरेडले सत्ता गठबन्धन निर्माण भएको बेलाको राजनीतिक सहमति पालना गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डको भूमिकाका विषयमा जिज्ञासा राख्नुभयो । यही गठबन्धनलाई कायम राख्ने कुरामा प्रचण्डले पनि सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । यद्यपि, राष्ट्रपतिका विषयमा गठबन्धनभन्दा बाहिर गएर निर्णय भयो भने हामी यही गठबन्धन छ भनेर सरकारमा बसिरहने अवस्था हुँदैन ।’ पुस १० मा सरकार बनाउँदा सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्री माओवादीलाई, सभामुख र राष्ट्रपति एमालेलाई र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने लिने सहमति भएको एमालेको दाबी छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले आफूले राष्ट्रपति पाउनुपर्ने र माओवादीले साझा सहमतिको राष्ट्रपतिको अडान नछाडेपछि सत्तासीन दल एमाले–माओवादीबीच खटपट देखिएको छ । त्यही खटपटलाई तत्कालका लागि साम्य बनाएर राष्ट्रपति हात पार्न ओलीले नयाँ रणनीतिस्वरूप राजनीतिक बजारमा नयाँ विकल्पहरू फाल्न थाल्नुभएको छ । राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने एजेन्डा अघि सारेका प्रधानमन्त्री दाहाललाई ओलीले आगामी राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रस्ताव गर्नुभएको बुझिएको छ । तर, एकीकृत समाजवादीका नेताहरूले यसलाई हल्ला मात्रै चलाइएको दाबी गरेका छन् । गत सोमबार ओली र नेपालबीच भेट भए तापनि भेटमा के के छलफल भयो भन्ने कुरा अझै बाहिर आएको छैन ।

गत पुस ९ मा माओवादी अध्यक्ष प्रचण्ड कहिल्यै प्रधानमन्त्री हुन नसक्ने अभिव्यक्ति दिएर ओलीले तत्कालीन पाँचदलीय गठबन्धनको नेतृत्व गरिरहेको पार्टी कांग्रेसलाई झुक्याएर गठबन्धन फुटाएको पृष्ठभूमिमा माधव नेपालसँग भएको वास्तविक कुरा सार्वजनिक नगरी ओलीले राष्ट्रपतिको उम्मेदवार नेपाललाई नै प्रस्ताव गर्न सक्ने चर्चा पनि चलेको छ ।

बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेको चर्चासमेत बाहिरिएको छ । ओलीले अध्यक्ष नेपालतर्फ संकेत गर्दै ‘तपाईंले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भन्ने प्रस्तावको जवाफमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सल्लाह गर्ने बताउनुभएको ओली निकट स्रोतको दाबी छ ।

एकीकृत समाजवादीले भने आफ्नो पार्टीका अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको प्रष्ट पारेको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीलाई राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएका छौं ।’

राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने बताउँदै खतिवडाले भन्नुभयो– ‘उम्मेदवारहरू राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौं । कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । अरू कोही उम्मेदवार भयो भने हाम्रो भोटले जित्दै छ । हाम्रो भयो भने पनि अरूको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’ कांग्रेस, माओवादीसहितको दलहरूसँगको छलफलपछि मात्रै टुंगो लाग्ने उहाँको भनाइ छ ।

त्यस्तै, पार्टीका सम्मानित नेता झलनाथ खनालले समेत पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष नेपालले पार्टीमा रिपोर्टिङ गरे पनि राष्ट्रपतिको प्रस्ताव आएकोबारे केही नबताएको जिकिर गर्दै भन्नुभयो– ‘अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा, भेटघाटको सन्दर्भमा रिपोर्ट गर्नुभयो, तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने चाहिँ, त्यस्तो रिपोर्टिङ गर्नुभएको छैन ।’

प्रधानमन्त्री बन्नकै लागि कांग्रेससहितको पुरानो गठबनधनबाट बाहिरिँदै सात दल सम्मिलित नयाँ गठबन्धन गरेर सरकार बनाएको माओवादीलाई दुई महिनामै गठबन्धन दलभित्रको अविश्वासले पोलेको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाको भनाइ छ । ‘प्रचण्डजीलाई यो गठबन्धनमा धेरै असहजताहरू देखिएका छन्’, खतिवडाले भन्नुभयो– ‘उहाँ पुरानै गठबन्धन ब्युँताउने र सहज रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सोचमा रहेको पाएको छु । राष्ट्रपतिको उम्मेदवारमा कसलाई समर्थन गर्नुहुन्छ, त्यसैअनुसार राजनीतिक कोर्स अघि बढ्छ ।’ समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);