काठमाडौं,१३ पुष । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको डेढ घण्टा लामो भेटवार्तापछि ती पार्टीका नेताले पार्टी एकतामा रहेको भनिएका तुवाँला हटेको दाबी गरेका हुन् । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलले राम्रो परिणाम ल्याएकामा माओवादी अध्यक्ष दाहाल केही दिनयता काठमाडौ वाहिर रहेपछि गठबन्धन धर्मराएको अड्कलबाजी गरिएको थियो । तर माओवादी अध्यक्ष दाहालले बुधबार भक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग पार्टी एकता र सरकार गठनका विषयमा डेढ घण्टा लामो छलफल गरेका छन । छलफलमा दुई नेताबीच पार्टी एकताको प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको छ ।
सहमति अनुसार आज पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी गरिएको छ । दुवै पार्टीका शीर्ष नेतासहितको संयोजन समितिले सरकार गठन अगावै कार्यतालिका सहितको अवधारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । बालकोट वार्तामा ओली र दाहालले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन । दुई अध्यक्षबीच प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेर अन्तिम मत परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउने समझदारी भएको ती पार्टीका नेताहरुले बताएका छन् । ओली र दाहालबीच राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशबारेमा भएको कुराकानी भने वाहिर आएको छैन ।




