गृहमा रास्वपाको दाबी, अब रवि लामिछाने होलान त गृहमन्त्री ! | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

गृहमा रास्वपाको दाबी, अब रवि लामिछाने होलान त गृहमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट सांसद पदका साथै उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका रवि लामिछाने पुनः रास्वपाको सभापति बन्नुभएको छ । काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टी बैठकको निर्णयानुसार केन्द्रीय सदस्य मनोनीत हुँदै उहाँ पुनः सभापति बन्नुभएको हो । सर्वोच्चले गत शुक्रबार उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उहाँको सांसद पद खारेज गरिदिएको थियो ।

आइतबार एकैदिन तीन वटा बैठक बसेर उक्त पार्टीले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्नेदेखि केन्द्रीय सदस्यमा मनोनयन र पार्टी सभापति चयन गर्ने प्रक्रिया समेत पूरा गरेको थियो । बैठकपछि पार्टीका महामन्त्री मुकुल ढकालले काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टीको सदस्यता लिनेलगायतका आवश्यक प्रक्रिया पूरा भएको भन्दै केन्द्रीय समिति बैठकबाट लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको ढकालको भनाइ छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘उक्त बैठकलगत्तै अर्यालयकै सभापतित्वमा बसेको अर्को बैठकले लामिछानेलाई पुनः सभापति चयन गर्ने प्रस्ताव गरेको र सो प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ ।’

उहाँले आइतबार नै लामिछानेको सभापतित्वमा बसेको बैठकले यसअघि स्थगित भएको संगठन विस्तारको कार्यक्रमलाई आगामी माघ २१ गतेदेखि शुरू गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो । जसअनुसार माघ २१ गण्डकीमा विस्तारित समितिको बैठक बस्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कार्यतालिका पुरानै तय गरिएको छ । प्रदेश १, मधेस प्रदेश र वागमतीको हकमा भने संगठन विभागको बैठक बसेर मिति तय गरिने जनाइएको छ ।

त्यस्तै, पार्टीले गृह मन्त्रालय आफ्नै भागमा परेको भन्दै यस विषयमा निर्णय गर्ने अधिकार आफ्नो दलको भएको दाबी गरेको छ । आइतबारको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका महामन्त्री ढकालले भन्नुभयो– ‘रास्वपाको आन्तरिक जीवनमा आएका समस्यालाई देखाएर गृहमन्त्रालयमा अन्य दलहरूले आशा गर्न मिल्दैन । यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’ ढकालले पार्टी सभापति लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेर कसलाई गृहमन्त्री बनाउने भन्ने टुंगो लगाउने बताउनुभयो ।

लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालयको नेतृत्वबारे सत्ता गठबन्धनमा छलफल शुरू भएको छ । रास्वपालाई नै फेरि सो मन्त्रालय दिन सरकारको नेतृत्वकर्ता दल माओवादी सकारात्मक नदेखिएको बताईएको छ । सत्तारुढ दलहरूमा भागबन्डा हुँदा रास्वपाले गृहसहित ३ मन्त्रालय पाएको थियो । रास्वपाले गृह अरुलाई नछाड्ने बताउँदै अर्को व्यक्ति पठाउने तयारी गरे पनि सत्तारुढ दलबीच सहमति जुटिनसकेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लामिछाने पदमुक्त भएपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल जारी छ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बसेर गृह मन्त्रालयको बारेमा निर्णय हुन्छ । अहिले विभिन्न कोणबाट छलफल भइरहेको छ । कुनै ठोस निर्णय भएको छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई गृह मन्त्रालय छाड्न सकारात्मक नभएको बताइएको छ । सचिव पौलेलले भन्नुभयो– ‘रास्वपाले दाबी गरेझैं अब फेरि उसैले पाउँछ भन्ने छैन । सरकारको नेतृत्व भएको दलले नै गृह मन्त्रालय राख्ने विगतको प्रचलन पनि हो ।’ पार्टी सभापति लामिछाने नै पदमुक्त भएपछि गृह मन्त्रालय दिनैपर्छ भन्ने बाध्यता नभएको नेताहरूको बुझाइ छ । त्यसमा सत्ताको प्रमुख साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहमत भएको दाबी गरिएको छ ।

रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका लिनुभएको थियो । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);