के रवि लामिछाने उम्मेदवारी दिन अयोग्य हुन त ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

के रवि लामिछाने उम्मेदवारी दिन अयोग्य हुन त !

काठमाडौं, २० चैत्र । संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य नठहरिने व्यवस्था छ । संविधानको पालना गर्ने हो भने तीन महिना पूरा गरेपछि मात्रै कानूनतः नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि नागरिक योग्य ठहरिने परिकल्पना संविधानले गरेको छ । केही समयअघि यसै सम्बन्धी घटना चर्चित भयो र अहिलेसम्म पनि छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउँछन् की पाउँदैनन् ? संविधानतः भन्ने हो भने उनी आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन् । तर कानूनमा छिद्र निकालेर उम्मेदवार बनाइए कानूनको धज्जी उड्ने संविधानविद्हरुको भनाइ छ । त्यसैले पनि संविधानमा छिद्र बनाउनु नहुने उनीहरुको भनाइ छ ।

संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य नहुने व्यवस्था गरेको बताउनु भयो । रास्वपा सभापति लामिछानेले नागरिकता लिएको मितिले मनोनयन दर्ताको दिनसम्मको समय ६५ दिन मात्रै पुग्छ । उनलाई अझै उम्मेदवार बन्न योग्य ठहरिनका लागि २५ दिन अपुग हुन्छ । किनभने चैत्र २० गते उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ । उपनिर्वाचन आगामी वर्षको वैशाख १० गते हुँदैछ । जसमा रास्वपा सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्म्ेदवार बन्दै हुनुहुन्छ । निर्वाचनको दिनसम्मको हिसाव गर्ने हो भनेपनि वैशाख १० गतेसम्म उहाँले नागरिकता लिएको समय ८५ दिन मात्रै हुन्छ । सभापति लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिनुभएको थियो । संविधान र संविधानविद्हरुका अनुसार तीन महिना समय नपुगेकाले उहाँले उम्मेदवारी दिन पाउने अधिकार हुँदैन । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद गुमाएका थिए । नागरिकता पुनः प्राप्त गरेपछि पुनः उनी रास्वपा सभापतिमा कार्यरत छन् ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले धेरै प्रकारको नागरिकताको व्यवस्था ग¥यो । वंशजको नागरिकता, जन्मसिद्ध नागरिकता, गैर आवासीय नेपाली नागरिकता, अंगीकृत नागरिकता, सम्मानार्थ यस्ता विभिन्न प्रकारका नागरिकताको व्यवस्था गरिएको छ । ती मध्ये गैर आवासीय नेपाली नागरिकका निम्ति राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्नका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्ने भन्ने बन्दोबस्त गरियो, यसैसँग सम्बन्धित गरेर संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुने भन्ने शीर्षक अन्तर्गत गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य हुँदैन । गैर आवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार त हुँदैन नै, तर त्यो आवासीय नागरिकता त्यागेको तीन महिना कुलिङ पिरियडका रुपमा संविधानले राखेको छ । यसको परिपालनाको अपेक्षा संविधानले गर्छ ।’

संविधानविद् देवकोटाले रास्वपा सभापति लामिछालेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरिसकेको र झुटा विवरण पेस गरेर राहदानी लिएको भन्ने विषय अनुसन्धानको क्रममा रहेकाले छुट्टै अनुसन्धान हुने बताउनु भयो । उहाँले झुटा विवरण पेस गरी राहदानी लिएको विषय राज्यबिरुद्धको अपराध भएको पनि बताउनु भयो । उहाँले यसमा सरकार पक्षले यसबिरुद्धको मुद्दा चलाउने अधिकार भएपनि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भनेपनि झुटा विवरण पेस गरी राहदानी लिएको कुरा दण्डनीय हुने स्पष्ट पार्नुभयो । उहाँले आम नागरिकले झुटा विवरण पेस गरेर नागरिकता वा राहदानी लियो भने उसलाई क्षम्य हुन्छ त ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आम नागरिक दण्डित हुने र ठूला तहका मान्छेहरुले छुटकरा पाउने कुरा गरिए कानून र संविधानको मौलिक हकबिरुद्ध हुने उल्लेख गर्नुभयो ।

संविधानविद् देवकोटाले भन्नुभयो, ‘सर्वोच्च अदालतले नागरिकताको सम्बन्धमा जुन नागरिकता प्रयोग भएको थियो, त्यो नागरिकता संविधान र कानूनतः स्वतः रद्ध भएको नागरिकता भनेको हुनाले रद्ध भइसकेको नागरिकता पेस गरेर निर्वाचित भएको र निर्वाचित भइ सरकारमा पनि प्रतिनिधित्व गरेको कुरालाई अवैध ठहर्याउँदै यो मामिला अवैध नै हो, संविधान विपरित र कानून विपरित नै हो । भनेर त्यो मामिला डिक्लियर नै गरेको छ । त्यो मामिलाको सन्दर्भमा मात्रै मुद्दा परेको थियो, सँगै फैसलामा के लेखियो भने झुटा विवरण पेस गरेर राहदानी लिएको भन्ने विषय अनुसन्धानको क्रममा रहेको हुनाले त्यसको मामिलामा छुट्टै अनुसन्धान हुने नै छ भनेर पनि उल्लेख गरेको छ । झुटा विवरण पेस गरी राहदानी लिएको विषय राज्यबिरुद्धको अपराध हो । मुद्दा चलाउने कुरा भनेको सरकार पक्षको हो, महान्यायाधिवक्ताको कार्यालयले हो, हाम्रो संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने अधिकार महान्यायाधिवक्ताले गर्ने भन्ने छ, महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभयो । तर झुटा विवरण पेस गरी राहदानी लिएको कुरा दण्डनीय हुन्छ, हाम्रो कानूनले त्यसो भन्छ ।’
संविधानविद् देवकोटाले संविधान, कानून र मर्यादाको छिद्र खोजेर अघि बढ्नेकुरा चिरस्थायी हुन नसक्ने बताउनु भयो । उहाँले कानूनले कोर्स लिने बेला यस्ता नजिरहरुमा प्रश्न उठ्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);