लामिछानेले सभापति गुमाएपछि स्थगित प्रदेशको संगठन बिस्तार रास्वपाले पुनः सुचारु गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लामिछानेले सभापति गुमाएपछि स्थगित प्रदेशको संगठन बिस्तार रास्वपाले पुनः सुचारु गराउने

काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार रवि लामिछानेले नागरिकता पुनःप्राप्ति गरेपछि उनलाई पार्टीको सभापतिमा पुनः चयन गरेको छ । पार्टीको आईतवार काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले लामिछोनलाई सभापतिमा पुनः चयन गरेको हो ।

यसअघि बैठकले उहाँलाई पार्टीको सदस्यता वितरण गरेको थियो । संगठित सदस्य वितरण गरेपछि बसेको केन्द्रिय समिति बैठकले सभापतिमा फेरि रवि लामिछानेलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । लामिछानेले आईतवार नै बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिनुभएको थियो ।

नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रवार उहाँको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको थियो भने सभापति पद पनि गुमाउनु परेको थियो । केन्द्रिय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उहाँलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रिय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय ग¥यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’ त्यसलगत्तै सभापति लामिछानेको सभापतित्वमा बसेको केन्द्रिय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा संगठन बिस्तार गर्ने कार्यतालिका आगामी माघ २१ गतेबाट पुनः सुचारु गर्ने निर्णय पनि गरेको छ । लामिछानेले पार्टीको सभापति पद गुमाएपछि स्थगित गरिएको सबै प्रदेशको संगठन बिस्तार सम्बन्धि कार्यतालिका पुनः सुचारु गराउने निर्णय पनि गरिएको प्रवक्ता ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा अर्को बैठक पनि बस्यो । र, त्यो बैठकले जुन संगठन बिस्तारको कार्यतालिका विशेष परिस्थितिले जुन स्थगित गरिएको थियो । त्यो स्थगित गरिएको जुन कार्यतालिका थियो, त्यसलाई पुनः सुचारु गर्ने माघ २१ गते गण्डकी प्रदेशबाट सुचारु गर्ने र गण्डकी हुँदै लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, त्यसपछि जुन प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशको छ । त्यो कार्यकातिका पनि संगठन विभागले प्रकाशित गरेर प्रदेशको बिस्तारित समितिको बैठक सुचारु गर्ने निर्णय गरिएको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी स्वभाविकै हुने बताउनुभएको छ । आफ्नो पार्टीको जिम्मेवारीमा परेको सो मन्त्रालयमा आफूहरुको दाबी हुनु अन्यथा नहुने उहाँको भनाई थियो ।

प्रवक्ता ढकालले भन्नुभयो, ‘अहिलेनै यी विषयहरुमा हामीले छलफल गरेका छैनौं । तर पनि हाम्रो आम बुझाई के हो भने समस्या हाम्रो पार्टीमा आएको हो । सहयात्री अन्य दलहरुमा आएको समस्या होइन । अन्य दलहरुले यसलाई समस्याको रुपमा बुझ्नुपर्ने जरुरी नै छैन । यो हाम्रो समस्या भएकाले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । त्यो जिम्मेवारी बारे आवश्यक निर्णय लिने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’’ प्रवक्ता ढकालले सो विषयमा पार्टी सभापति लामिछानेले सत्तारुढ अन्य घटकका नेताहरुसँग छलफल गरेर अघि बढ्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);