पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध

PASHUPATINATH

काठमाडौं, ११ पुष ,विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भन्नुभयो , ‘विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि यो आवश्यक देखियो ।’

यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न पाउँथे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठेरो हुने गरेको थियो ।

‘मानिसहरु आध्यात्मिक चिन्तनको हिसाबले जाने भएकाले त्यहाँ अनावश्यक गाडीहरु लिएर जाँदा समस्या देखियो,’ डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपति क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।

पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।

मरासिनीका अनुसार मंगलबारबाटै बनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीकाअनुसार गाडी पार्किङको लागि बनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट बनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।

फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);