काठमाडौं । बाँकेमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का ३१ महिनाका बालकको मृत्यु भएको हो ।
दादुराको लक्षण देखिएका बालकको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
ज्वरो आउने र शरिरमा राता–राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो ।
दादुरा बिषाणुबाट हुने अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ। खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।
दादुरा रोग लागेका बालबालिकाहरूलाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । कान पाक्ने र कडा श्वास–प्रश्वास रोगको उपचारको लागि मात्र प्रतिजैविक औषधी दिनुपर्दछ । बिरामीलाई खान र झोलिलो पदार्थ पिउन प्रोत्साहित गर्नुपर्दछ । विकासोन्मुख मुलुकहरूमा दादुरा रोगको निदान भइसकेका बालबालिकाहरूलाई २४ घण्टाको फरकमा २ मात्रा पूरक भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । पूरक भिटामिन ए ले दादुरा रोगबाट मृत्यु हुने संख्यालाई ५० प्रतिशतले घटाउनुका साथै आँखा विग्रन र अन्धोपन हुनबाट बचाउँछ ।