एकिकृत समाजवादी भित्रै दुईधार, ओली-नेपाल पुनर्मिलनको बिन्दु कसरी बन्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एकिकृत समाजवादी भित्रै दुईधार, ओली-नेपाल पुनर्मिलनको बिन्दु कसरी बन्ला ?

बटुकराज गिरी/माउण्टेन टेलिभिजन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी यतिबेला मझधारमा परेको छ । कांग्रेससंग सत्ता सहकार्यको कुरा नमिलेपछि अप्रत्यासित रुपमा एमालेसंग गठबन्धन गर्दै सरकारको नेतृत्व सुरु गरिसकेको माओवादीबाट धोका पाएको भन्दै एमालेमै फर्किएर सरकारमा जाने या प्रतिपक्षमा बस्ने भन्ने विषयमा एकिकृत समाजवादी भित्र दुईधार देखिएको छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरुको इतिहास टुट, फुट र एकताको घटनाले भरिएको छ । पछिल्लो पटक २०७८ भदौ २८ गते एमालेले तेस्रो विभाजन भोग्यो र गठन भयो नेकपा एकीकृत समाजवादी । स्थानीय चुनावदेखि प्रदेश र प्रतिनिधि सभाको चुनावमा तत्कालीन सत्ता गठबन्धनमा रहेको नेकपा एसले अपेक्षित परिणाम ल्याउन सकेन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेपनि राष्ट्रिय पार्टी बन्न सकेन । अहिले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी विभाजनको औचित्य पुष्टि गर्न हम्मेहम्मे परिरहेको छ । नेकपा एस सरकारमा जाने कि नजाने दोधारमा छ । स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनहरु प्रस्तुत भएका छन् । तर, एमालेमै फर्केर सरकारलाई समर्थन गर्ने या प्रतिपक्षमा बस्ने भन्ने विषयमा दुइ मत देखिन थालेको छ ।

ओली सरकार ढालेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने महत्वपूर्ण शक्ति बनेका माधव नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट साथ र भरोसा दुवै थियो । प्रचण्ड सुटुक्क ओलीसँग मिलेपछि नेपाल एक्लो जस्तै भएका छन् । प्रचण्डकै कारण पार्टी फुटाएका नेपाल फेरि प्रचण्डकै कारण एमालेसँग एकता गर्नुपर्ने दबाबमा परेका छन् । एमालेमा रहेर लामो राजनीतिक जीवन नै समर्पण गरेका कतिपय नेताहरु आत्मासमीक्षा गर्दै एक हुनुपर्नेमा जोड दिइरहेका छन् ।

केही अघिसम्म ओलीसँग पानी बाराबार गरेका प्रचण्ड अहिले एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका छन् । ओली र प्रचण्डको मेलमिलाप लोभलाग्दो बन्दै गएको छ । तर, प्रचण्डको कदम अनुमान गर्न कठिन हुने खालको छ । ओली नेकपा एसलाई एमालेमा फर्काएर ठूलो पार्टी बनाउने योजनामा देखिन्छन् । एसका कतिपय नेताहरुमा पनि एकीकरणको आतुरता छ । तर, माधव नेपाल र झलनाथ खनालको ओलीसँग लत्रिइहाल्ने इच्छा देखिएको छैन । यस्तो अवस्थामा ओली र नेपालको पुनर्मिलनको बिन्दु कसरी बन्ला ? चासो बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);