निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टि

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टि, स्थानीय निर्वाचनभन्दा चारगुणा मत बदर, बैतडीमा मात्रै खसेको मतमध्ये ९ प्रतिशत मत खेर गयो

नरी बडु,

बैतडी, २९ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर मतपरिणाम पनि करिब आइसकेको छ । तर, मतदाता शिक्षामाथिको बहस भने अझै सकिएको छैन । मतदाता शिक्षा प्रभावकारी नभएकै कारण ठूलो मात्रामा मत बदर भएपछि निर्वाचन आयोगका विगतका काम–कारबाहीमाथि प्रश्न उठेको हो ।

मंसिर १० गते हुने निर्वाचनका लागि बैतडीमा कात्तिक २६ देखि मात्रै मतदाता शिक्षा स्वयंसेवक गाउँ–गाउँ खटिएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता शिक्षाका लागि बैतडीमा करिब ४० लाख खर्च भयो । तर, यहाँ प्रत्यक्षतर्फ ९ प्रतिशत मत बदर भएको छ, जुन स्थानीय तह निर्वाचनको तुलनामा करिब चार गुणा बढी हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको ७६ हजार एक सय ७६ मत मध्ये सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि प्रशस्त समय भए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समय निकै कम भएकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रत्यक्षको तुलनामा समानुपातिकमा तेब्बरभन्दा बढी मत बदर भएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा खसेको ७४ हजार सात सय ७५ मतमध्ये १२ हजार पाँच सय ५९ मत बदर भएको छ  । जुन १७ प्रतिशत बराबर हो । मतदाताले पनि समयमा मतदाता शिक्षा गाउँमा नपुग्नु र राजनीतिक दलका कार्यकर्ताले पनि मतदाता शिक्षामा चासो नदेखाउँदा बढी मत बदर भएको हो ।

स्थानीय तह निर्वाचनमा हरेक उम्मेदवारले भोट हाल्ने तरिका सिकाएका थिए । तर, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन कार्यालयले पहाडी भूगोलमा एक हजारभन्दा बढी मतदातालाई एउटै मतदाता शिक्षा कार्यकर्ताले सिकाउनुपर्ने गरी जिम्मेवारी दिएकाले पनि मतदाता शिक्षा प्रभावकारी हुन सकेन । आठ महिनाको अवधिमा पाँच चरणमा तीनवटा तहको निर्वाचन गर्दा पनि यति ठूलो मात्रमा मत बदर हुनु निर्वाचन आयोगको कमजोरी नै हो । यसतर्फ आगामी दिनमा थप सचेत हुन जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);