मतदान शिक्षा नहुँदा अन्याेलमा मतदाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मतदान शिक्षा नहुँदा अन्याेलमा मतदाता

धनगढी। सोमबार बिहान धनगढी–३ बोराडाँडी स्थित खेतमा काम गर्दै गरेका महिला मतदान प्रक्रियाका बारेमा एक आपसमा कुरा गर्दै थिए । एक महिलाले  मंसिर ४ मा कसरी मतदान गर्ने भन्ने प्रश्न समूहमै राखिन् । प्रश्न सकिन नपाउँदै ग्रुपमै सहभागी स्थानीय श्यामा रानाले जवाफ दिइन्, ‘७ ठाउँमा मत हाल्ने हो, कसलाई दिने सोच्दै छौं ।’ खेतमै काम गर्दै गरेका अन्य महिलाले पनि उनको उत्तरमा समर्थन दिए । त्यहाँ काम गर्ने सवै महिलालाई मंसिर ४ मा कसरी मतदान गर्ने भन्ने विषयको कुनै ज्ञान थिएन । स्थानीय तहमा ७ ठाउँमा मतदान गरेको हुँदा आगामी निर्वाचनमा पनि ७ ठाउँमै मतदान गर्नुपर्छ भन्ने उनीहरूको बुझाइ थियो । गाउँटोलमा श्यामा जस्ता धेरै मानिसलाई अझै पनि मंसिर–४ मा कसरी र कति मतपत्रमा मतदान गर्ने भन्ने कुराको ज्ञान नभएको त्यो एउटा उदाहरण मात्र हो । सरकार र राजनीतिक दलहरूले मंसिर ४ गते हुने निर्वाचनका लागि तयारी गर्दै गर्दा मतदाता शिक्षालाई महत्व दिएको पाइँदैन । तर, धेरै मतदातालाई भने कति मतपत्रमा मतदान गर्ने हो भन्ने बारेमा जानकारी छैन । ‘उम्मेदवार घरघरमा आएर आफ्नो चुनाव चिह्न देखाउँदै  हामीलाई भोट दिनुहोला भनेर जान्छन्,’ खेतमै काम गर्दै गरेका रामदास रानाले भने, ‘तर कति मत पत्रमा मतदान गर्ने, मतदान गर्ने प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा उनीहरूले भनेका छैनन्, मतदाताले पनि कसरी मतदान गर्ने भन्ने विषयमा जिज्ञासा राख्ने गरेका छैनन् ।’ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उप महानगरपालिकामा खसेको कुल ६३ हजार ६७४ मतमध्ये नगरप्रमुखमा ११ हजार ७६९ (१८ प्रतिशत) मत बदर भएको थियो भने उपप्रमुखमा २३ हजार ९६८ मत (३७ प्रतिशत) मत बदर भएको थियो । मत बदर हुनको प्रमुख कारण मतदाता शिक्षाको अभाव रहेको बोराडाँडीकै स्थानीय तथा सेवा निवृत शिक्षक नारायण पन्थीले बताए । सरकारले सञ्चार माध्यममार्फत् मतदान गर्ने प्रक्रियाका बारेमा केही जानकारी गराएको भए पनि गाउँघरका धेरै मानिस सञ्चार माध्यामको पहुँचमै नरहेको उनी बताउँछन् । ‘खेतबारीमै व्यस्त हुने मानिस सञ्चार माध्याममा जोडिने फुर्सदनै पाउँदैनन्,’ पन्थीले भने, ‘निर्वाचन आयोगले ती समूहलाई बेवास्ता गरेको जस्तो देखिएको छ, उम्मेदवारले पनि भोट मात्रै माग्ने तर कसरी मतदान गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरेका छैनन्, यसले धेरै मत बदर हुन सक्दछन् ।’ अनौपचारिक सेवा केन्द्र इन्सेकका प्रदेश संयोजक खडकराज जोशी पनि मतदाता शिक्षामा कसैले चासो नदिएको बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा धेरै मत बदर हुनुको कारण मतदाता शिक्षाको कमी हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘यस पटक पनि मतदाता शिक्षालाई प्राथमिकतामा पारिएको देखिँदैन, मतदाता शिक्षामा जोड नदिए आगामी चुनावमा पनि धेरै मत बदर हुन सक्छन् ।’

निर्वाचनमा मतदाता शिक्षा अपरिहार्य रहेको उनी बताउँछन् । ‘निर्वाचनका लागि राज्यले यति धेरै खर्च गर्दै छ,’ उनले भने, ‘तर भोट दिने जनतालाई यसरी भोट दिनु पर्छ है भन्ने कुरा सिकाउन सकिएन भने त्यसले चुनावमा राज्यले गरेको लगानीको प्रतिफल राम्रो नआउन सक्छ ।’ मतदातालाई सचेत बनाउने दाइत्व सरकार संगै घरघरमा जाने उम्मेदवारको पनि हुने उनले बताए ।

घरघरमा गएर मतदाता शिक्षा दिन सकिँदैन : प्रेमराज भट्ट  

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्ट भने घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्न नसकिने बताउँछन् । आम मतदातालाई मतदान प्रक्रियाबारेमा जानकारी गराउने दायित्व मतदाता र राजनीतिक दलको पनि हुने उनले बताए । ‘निर्वाचन आयोगले मतपत्रको संख्या यति छ, त्यसमा मतदान गरौं भन्ने जानकारी गराउने हो,’ उनले भने, ‘तर कसरी मतदान गर्ने कति छाप लगाउने भन्ने कुराको जानकारी उम्मेदवारले आफ्ना मतदातालाई दिन सक्नु पर्दछ, आयोग एक्लै नै सबै गर्न सक्दैन ।’ निर्वाचन आयोगले सामाजिक सञ्जाल तथा सञ्चार माध्याम मार्फत मतदाता शिक्षाको बारेमा जानकारी गराउने गरेको उनले बताए ।  त्यसबाहेक निर्वाचन कार्यालयमा मतदाता शिक्षा केन्द्र राखिएको उनले बताए । ‘मतदान प्रक्रियाका बारेमा जानकारी गराउन निर्वाचन कार्यालय धनगढीमा छुट्टै कक्ष स्थापना गरिएको छ,’ उनले भने, ‘तर त्यहाँ नत मतदाता नै आउँछन्, नत राजनीतिक दलले नै चासो देखाएका छन् ।’

मतदाता शिक्षा प्राथमिकतामा पर्न सकेन 

आफ्नो पक्षमा मत माग्न जनताको घर दैलोमा धाइरहेका राजनीतिक दल तथा उम्मेदवारले भने मतदाता शिक्षालाई प्राथमिकतामा पार्न नसकेको स्वीकार गर्छन् । ‘हामीले यस विषयमा अहिलेसम्म त्यति ध्यान दिन सकेका छैनौं,’ नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञावालीले भने, ‘तर यो विषय धेरै संवेदनशील छ, हामी आगामी दिनमा यस विषयमा छलफल गछौं ।’ बिहीबार  १७ कात्तिकदेखि खुलारुपमा सभा सम्मेलन गर्न पाइने व्यवस्था गरिएको भन्दै उनले सो समयमा गठबन्धनको संयुक्त टिम बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गरिने बताए ।  नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले यस पटक मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखिने बताए । स्थानीय तहको निर्वाचनमा हामीले त्यतातर्फ खासै ध्यान दिन सकेनौं, जस कारण धेरै मत बदर भए,’ उनले भने, ‘मंसिर ४ गते हुने निर्वाचनमा त्यसो हुन नदिनका लागि हामी सचेत बनेका छौं, पार्टीको तर्फबाट मतदाता शिक्षा दिन टोलटोलमा युवा परिचालन गरेका छौं ।’

नेकपा एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्य रणबहादुर चन्दले मतदाता शिक्षाका बारेमा छलफल गरिने बताए । ‘घर दैलोमा जाँदा सबै उम्मेदवारले भोट मात्रै माग्ने गरेका छन्, ’ उनले भने, ‘तर मतदाता शिक्षा अहिले सम्म प्राथमिकतामा परेको जस्तो लाग्दैन, यस विषयमा सबै पार्टी भित्र छलफल हुनु जरुरी छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);