'परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण' | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

एजेन्सी, १६ मंसिर। संयुक्त राज्य अमेरिकाको हवाई राज्यले शीतयुद्धपछि पहिलो पटक परमाणु हमलाको चेतावनी दिने साइरन परीक्षण गरेको बीबीसीले जनाएको छ।

उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमसम्बन्धी खतराका माझ फेरि प्रत्येक महिना गरिने त्यस्तो परीक्षणको थालनी गरिएको हो। प्योङयाङले श्रृंखलाबद्ध रुपमा बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको छ र सेप्टेम्बर महिनामा उसले छैटौँ पारमाणविक परीक्षण गरेको थियो।

प्रशान्त महासागरमा पर्ने हवाईमा सुनामीसहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनहरुको मासिक परीक्षण पहिल्यैदेखि गरिँदै आएको छ। परमाणु हमलाको चेतावनी दिने साइरनले फरक किसिमको आवाज निकाल्छ जुन त्यहाँका बासिन्दा र पर्यटकलाई घरभित्र रहन तथा थप निर्देशनको प्रतीक्षा गर्न लगाउने चेतावनी हो।

पछिल्लो पटक सन् १९८० को दशकमा शीतयुद्धको अन्तिम वर्षमा हवाईमा परमाणु हमलाको चेतावनी दिने साइरनको परीक्षण गरिएको थियो।