सडकमा जोगाइएको चौतारीले तान्यो पर्यटक | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सडकमा जोगाइएको चौतारीले तान्यो पर्यटक

तनहुँ । ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने खड्गकाली मोटरमार्गको पाँच दशमलव ६ किलोमिटर सडक संघीय सरकार र व्यास नगरपालिकाको लागत साझेदारीमा कालोपत्रे गरिएको छ ।  सडक कालोपत्रे गर्दा देउराली डाँडाको पश्चिमपट्टी सडकको बीचमा रहेको समीको चौतारीलाई जोगाइएको छ । देउराली डाँडाको पूर्वपट्टी पिपलको चौतारीलाई पनि नफालिकन सडक कोलोपत्रे गरिएको छ ।
 
सडक कालोपत्रे गर्दा जोगाइएको समीको चौतारीले तनहुँसुरलाई परिचत बनाएको छ । चिल्लो कालोपत्रे सडकको बीचमा रहेको समीको चौतारी यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । त्यही चौतारीले दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकलाई तनहुँसुरमा उकाल्न सफल भएको हो ।

‘प्लेनबाट देखाइदेउ तनहुँसुर
मोटरैमा घुमाइदेउ बन्दीपुर
ए कसम लाम माया छपक्कै….’

गायक प्रेमराजा महतले गायिका अन्जु पन्तसँग गाएको ‘छ माया छपक्कै’ बोलको गीतको यो टुक्कामा तनहुँसुरस्थित देउराली डाँडा नजिकको सडक र समीको चौतारी पृष्ठभूमिमा राखेर टिकटकमा भिडियो अपलोड गर्नेको संख्या बाक्लो छ । प्रेमराजाले अमेरिकाबाट आएर तयार पारेको यो गीतको भिडियो युट्युबको नेपाल ट्रेन्डिङमा पर्दा तनहुँसुर क्षेत्र ओझेलमा थियो । सडक कालोपत्रे सम्पन्न भएपछि अहिले तनहुँका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक भाइरल सडकको चौतारीमा फोटो र भिडियो खिच्नलाई उक्लिरहेका छन् । सामाजिक सञ्जालमा समीको चौतारी पृष्ठभूमिमा राखेर खिचिएको फोटो, भिडियो छ्यापछ्याप्ती देखिन्छन् हिजोआज ।

खड्गकाली मोटरमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–११ रातमाटादेखि ढाँडखोलेसम्मको सडक कालोपत्रे गर्नलाई संघीय सरकार र व्यास नगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारी व्यहोर्ने गरेर बजेट विनियोजन भयो । सडकको डिजाइन गर्ने बेला इन्जिनियरले सुरुमा समी र पिपलको चौतारीलाई फाल्नुपर्ने बताए । स्थानीयवासीले पुर्खाको चिनारी चौतारीलाई जोगाउनुपर्ने सुझाव दिएपछि चौतारीलाई बीचमै पारेर कालोपत्रे गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सञ्जय श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘इन्जिनियरको डिजाइनअनुसार चौतारी फाल्नुपर्छ भन्ने थियो । तनहुँसुर ऐतिहासिक ठाउँ हो भएका चौतारीलाई जोगाउनुपर्छ । यसले पर्यटनमा पनि सघाउ पुर्‍याउन सक्छ भन्ने सुझाव स्थानीयले दिएकाले जोगियो । त्यै चौतारी पो भाइरल भइदियो ।’
 
चौतारी जोगाउँदा यसरी भाइरल बनेर पर्यटक ओइरिने कसैले नसोचेको उनले सुनाए ।  चौतारीसँगै देउराली डाँडाका कारणले पनि पर्यटकलाई आकर्षित गराएको श्रेष्ठले बताए । ‘चौतारीसँगै देउराली डाँडाबाट चारैतर्फका दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटकलाई थप आकर्षित बनाएको हो’, उनले भने ।
 
यसअगाडि तनहुँसुर दरबार आसपासका क्षेत्र पर्यटकीय सम्भावना भएर पनि ओझेलमा थिए । भाइरल चौतारीले तनहुँसुर क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा सघाएको श्रेष्ठ बताउँछन् । ‘तनहुँसुरमा ऐतिहासिक दरबार छ । पहिला ओझेलमा परेको थियो । अहिले प्रचार हुन थालेको छ । मुख्यत: भाइरल चौतारीले भूमिका खेल्यो । सडक कालोपत्रे भएपछि आउनलाई पनि सजिलो भयाे’, उनले सुनाए ।
 
सडक कालोपत्रे गर्नलाई १० करोड रुपैयाँको लागत अनुमान गरेर टेन्डर आह्वान गरिएको थियो । ऋषि शक्ति जेभीले सात करोड ५१ लाख रुपैयाँमा ठेक्का लिएर पक्की नाला सहितको सडक कालोपत्र गरेको हो ।
 
चौतारी भाइरल भएपछि तनहुँसुरमा दैनिक एक हजारसम्म पर्यटक आउन थालेको स्थानीय लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार बिदा र शनिबारको दिन पर्यटकको भिड लाग्छ । गाउँमा पर्यटकको ओइरो लाग्दा लक्ष्मण दंग छन् । ‘सबै यहाँ छोडेर दमौली झरेका छन् । केही हुन्छ कि भनेर नै डाँडोमा बसेका थियौँ । ऐतिहासिक ठाउँ भएकाले कुनै दिन पर्यटक आउँछन् भन्ने लागेको थियो । बाटो पिच भएपछि आउन सुरु भयाे’, उनले भने ।
 
तनहुँसुर दरबार आसपासको क्षेत्रमा पूर्वाधार थप भएमा अझै पर्यटक बढ्ने उनको अपेक्षा छ । उनले अगाडि थप्दै भने, ‘पुराना संरचनालाई संरक्षण गर्ने, प्रचारप्रसार गर्न स्थानीय सरकारले सघाइदिने हो भने तनहुँसुरको भविष्य राम्रो देखिन्छ ।’
 
भाइरल चौतारीलाई आकर्षक बनाउनलाई नवआर्दश टोल कस्सिएको छ । समी र पिपलको चौतारीलाई आकर्षक बनाउन आर्थिक संकलन भइरहेको छ । यस्तै, देउराली डाँडामा अघिल्लो  शनिबार मात्र १६ फिटको राष्ट्रिय झण्डा अनावरण गरिएको छ । यहाँ उद्यान बनाउने योजना समेत छ ।
 
सडक र चौतारी भाइरल भएर दैनिक सयौँको संख्यामा पर्यटक पुगे पनि नजिकै रहेको तनहुँसुर दरबार अझै ओझेलमा रहेको वडा अध्यक्ष निरबहादुर खड्का बताउँछन् । उनले भाइरल चौतारीसम्म आएका पर्यटकलाई सेनवंशी राजाले शासन गरेको ऐतिहासिक ‘तनहुँसुर दरबार’सम्म पुर्‍याउनलाई वडा र नगरपालिका प्रचारप्रसारमा लागेको बताए । भाइरल चौतारीबाट दरबार करिक साढे दुई किलोमिटरको दूरीमा छ । ‘कच्ची सडक भएकाले पनि होला चौतारीमा पर्यटक भरिभराउ हुँदा दरबारसम्म पुगेको पाइँदैन । बाँकी सडक कालोपत्रेका लागि संघीय सरकारसँग बजेट माग गरेका छौँ । सम्भवत बजेट आउनेछ । सडक कालोपत्रे भएपछि दरबार पुग्नेको संख्या पनि बढ्नेछ ,’ उनले भने । 
 
वडा अध्यक्ष खड्काका अनुसार पुरातत्व विभागले तनहुँसुर दरबार क्षेत्रमा उत्खनन गरेर भग्नावशेष संरचना फेला पारेको छ । दरबार परिसरमा रहेको खड्गकालिका मन्दिरसमेत पुरातत्व विभागले पुनर्निर्माण गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);