बीचमा रुख, वरिपरि कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बीचमा रुख, वरिपरि कालोपत्रे

tree in sadak

धनगढी, २९ साउन । कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ। तर धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन्। जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन्।

तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१/७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने सडकको ठेक्का सम्झौता भएको थियो। साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न तीन करोड ५० लाख रुपैयाँमा राजेन्द्र रुद्रावती जेभीले ठेक्का लिएको थियो। सडक ठेक्का प्रक्रियामा गइसकेपछि साइड हेरेर रुख हटाउन भनिए पनि वन कार्यालयले वन ऐनअनुसार रुख हटाउन नदिएको सडक डिभिजन कार्यालय धनगढीका साइड इन्जिनियर महेन्द्र पन्तले बताए। ‘सांसदले नै सडक बनाउनुस्, बिस्तारै रुख हटाउन प्रक्रिया थाल्छु भन्नुभयो,’ उनले भने, ‘सांसदले रुख हटाउने आश्वासन दिएपछि हामीले पनि सडक कालोपत्रे गर्न प्रक्रिया थालेका हौं।’ सडक कालोपत्रे भइसक्दा पनि रुख हटाउन कतैबाट अनुमति नपाएको उनले बताए। कालोपत्रे सडकका बीचमा रहेका ३१ वटा रुख यात्रुका लागि धराप बनेको उनले स्विकारे।

जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन् ।
स्थानीय बासिन्दा कालोपत्रे सडकमा रहेका रुखले ज्यानै लिएको घटना सुनाउँछन्। ‘सडकमै रहेको रुखले मेरो भाइको ज्यान लियो,’ धनगढी–१७ पथरीका भिखराम चौधरी भन्छन्, ‘अहिलेसम्म तीनजनाको ज्यान गइसक्यो, कयौं अंगभंग भएका छन्।’ कालोपत्रे सडकभरि रुखैरुख हुँदा मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि ठोक्किने समस्या भएको उनी बताउँछन्। ‘मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि आँखैअगाडि रुख आइहाल्छ,’ उनले भने, ‘यो सडकमा यात्रा गर्दा कतिखेर रुखमा ठोक्किन्छु भन्ने लागिरहन्छ ।’ गाउँबाट धनगढी बजार आउन अर्को सडक नरहेको बताउँदै उनले भने,‘यो सडक हाम्रा लागि धराप बनेको छ तर के गर्नु, विकल्प छैन।’

स्थानीय बासिन्दा बीचमा रहेका रुख नहटाई जोखिम हुनेगरी सडक कालोपत्रे गर्नु गलत भएको बताउँछन्। ‘रुख हटाएर मात्र कालोपत्रे भएको भए विकास हुन्थ्यो, यो विकासले विनाश गरिरहेको छ,’ सवारीसाधन ठोक्किएर दाग लागेका रुख देखाउँदै चौधरीले भने, ‘दाग नलागेको कुनै रुख नै छैन । यहाँ कति दुर्घटनाको जोखिम रहेछ, आफैं बुझ्नुहोस्।’

सडकमा रहेका रुखले गर्दा दिनहुँ दुर्घटना हुने गरेको धनगढी–७ देवहरियाका रामदिन चौधरीले बताए। उनले भने, ‘कालोपत्रे गरिएको सडकमा रहेका रुखमा ठूला मालवाहक सवारीसाधन ठोक्किने गर्छन्।’ साइड इन्जिनियर पन्तले सो सडक खण्डमा दुर्घटना नहोस् भनेर रुखमा पेन्टिङ गर्ने योजना रहेको बताए।

वन कार्यालय तगारो
वन कार्यालयले समयमा रुख काट्ने अनुमति दिन आनाकानी गर्नाले विकासमा अवरोध पुग्ने गरेको छ। वन कार्यालयले अनुमति नदिएकै कारण धेरै योजना निर्माणमा ढिलाइ हुने गरेको स्थानीय बताउँछन्। यो सडक खण्डमा पनि वन कार्यालयले अनुमति नदिएको निर्माण व्यवसायीको गुनासो छ।

निर्माण कम्पनीका ठेकेदार किशोर ठकुराठीले सडक क्षेत्रमा परेका रुख हटाइदिन पटकपटक सडक डिभिजन कार्यालयलाई गुहारेको बताए। उनले भने, ‘डिभिजन कार्यालयले वनलाई पत्र पठायो तर वनले रुख कटानी गर्न आदेश दिएन।’ रुख काट्ने अनुमति कुर्दा ठेक्का सम्झौताको अवधि सकिने मिति नजिकिँदै गएको र यसले आफूहरुलाई समस्या पारेको उनले स्मरण गरे। उनले भने, ‘रुख नहटाउन्जेल सडक बनाउन नसक्ने भन्दै पटकपटक सडक डिभिजन कार्यालयलाई पत्राचार गर्दा तत्कालीन डिभिजन प्रमुख विनोद मौवारले जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा काम गर्नू भनी आदेश दिए।’ सांसद ओझा र तत्कालीन डिभिजन प्रमुखको आदेशमा आफूले सकारेको सडक निर्माणको ठेक्काअनुसार काम गरेको उनले बताए।

प्रारम्भिक वातावरणीय मूल्यांकन नभई टेन्डर
प्रारम्भिक वातावरणीय मूल्यांकन भएपछि मात्र कुनै पनि कामको टेन्डर हुनुपर्ने हो। तर यस योजनामा प्रारम्भिक वातावरणीय मूल्यांकन नगरी टेन्डर आह्वान भएकाले रुख नहटाई कालोपत्रे गरिएको हो। ‘प्रारम्भिक वातावरणीय मूल्यांकन गरेर सबै पूर्वतयारी सकेपछि मात्र टेन्डर हुनुपर्ने हो। हामीकहाँ पूर्वतयारी नभईकन टेन्डर हुनाले योजना ढिलाइ हुनेलगायतका समस्या हुने गरेका छन्,’ एक प्राविधिकले भने । पूर्वतयारीबिना हचुवाका भरमा बजेट सिध्याउन कालोपत्रे गरिएको स्थानीयको आरोप छ।

प्रारम्भिक वातावरणीय मूल्यांकन नगरेरै जंगलको बीचोबीच सडक बनाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन इन्जिनियर लक्ष्मीदत्त भट्टले स्वीकार गरे। उनले भने, ‘तत्कालीन सांसद पुष्करनाथ ओझाले सडकमा परेका रुखहरु कटाइहाल्छु भन्नुभयो तर नकटाएरै सडक पिच भयो।’ आफूले पनि सडकमा परेका रुख हटाइदिन जिल्ला वनलाई पटकपटक पत्र लेखेको बताउँदै उनले भने, ‘जिल्ला वनले मन्त्रिपरिषद्को स्वीकृतिबिना रुख हटाउन नपाइने जवाफ फर्कायो।’ कालोपत्रे सडककै बीचमा रुख हुँदा यात्रा गर्न कठिनाइ हुनु स्वाभाविक भएको उनले बताए। ‘हाम्रो मातहतमा भएको भए माथि कुरा गथ्र्यौं तर यसपालिदेखि प्रदेश सरकारकै मातहतमा सो सडक परेको छ’, उनले थपे।

ज्यान लिँदै बीचसडकका रुख
देवहरियाको जंगलबीचमा बनाइएको कालोपत्रे सडकका बीचमा रहेका रुख ज्यानमारा धराप बनेका छन्। यिनै रुखका कारण धनगढी उपमहानगरपालिका–१७ पथरीका भिखराम चौधरीले भाइ गुमाए। सडकबीचमा रहेको रुख देखाउँदै उनले भने, ‘पत्रकारज्यू, यही रुखले हो मेरो भाइको ज्यान लिएको।’ गत हिउँदमा धनगढीबाट घर फर्कने क्रममा पथरीका २६ वर्षीय खुसीराम चौधरीको बीचसडकमा रहेको रुखमा मोटरसाइकल ठोक्किँदा मृत्यु भएको थियो।

देवहरिया–बेहडाबाबा जोड्ने कालोपत्रे सडकका बीचमा ठिङ्ग उभिएका रुखहरुले नै सो सडक खण्डमा दुर्घटना बढाएको बताउँदै भिखरामले भने, ‘कुखुरापालन गर्दै आएको भाइ चारो लिएर धनगढीबाट फर्कदै गर्दा बीचबाटोमा रहेको सालको रुखमा ठोक्किएर घाइते भयो।’ घाइते अवस्थामा रहेको भाइलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको बताउँदै उनले भने, ‘यी रुखमा दैनिक अनेक मोटरसाइकल ठोक्किन्छन्।’ केही महिनाअघि धनगढीबाट पथरीतर्फ जाँदै गरेका दुई युवक पनि रुखमा ठोक्किएर घाइते भएको उनले बताए। ‘सडकका बीचमा रहेका रुखमा दैनिकजसो ट्याक्टर, गोरुगाडा, जिप तथा ट्रक ठोक्किने गरेका छन्,’ उनले थपे, ‘सवारीसाधन ठोक्किँदा तिनका चालक तथा यात्रुलाई चोटपटक लाग्नुका साथै कतिपय गाडी बिग्रने गरेका छन्।’

स्थानीय लालबहादुर चौधरीले कालोपत्रे सडकमा रहेको रुखमा ठोक्किएर छोराको मृत्यु भएको बताए। उनले भने, ‘दुई छोरामध्ये म कान्छोसँग बसेको थिएँ। त्यही छोरालाई सडकमा रहेको रुखले खोस्यो।’ छोराको मृत्युपछि अहिले आफू एक्लै रहेको बताउँदै उनले भने, ‘बुढेसकालमा छोरा सहारा होला भन्ने सोचेको, त्यही छोरालाई रुखले लग्यो।’आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);