रुपन्देहीबाट अपहरित दुई बालबालिकाको झापाबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुपन्देहीबाट अपहरित दुई बालबालिकाको झापाबाट उद्धार

apaharan

बुटवल । विद्यालय जाने क्रममा अपहरणमा परेका रुपन्देहीका दुई बालबालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियाबाट बिहीबार बिहान स्कुल हिँडेका एकै घरका दुई बालबालिका अपहरणमा परेका थिए ।

अपहरित बालबालिकालाई प्रहरीले शुक्रबार झापाबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरित बालबालिकालाई शुक्रबार बिहान काँकडभिट्टाबाट उद्धार गरिएको हो ।

उद्धारपछि बालबालिकालाई आफन्तको सम्पर्कमा जिम्मा लगाइएको पौडेलले जानकारी दिए । अपहरणको कारणबारे भने अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सैन मैना नगरपालिका वडा नम्बर ६ बस्ने पुष्पा दाहालका एक छोरी १२ वर्षीया प्रसिद्ध दाहाल र एक छोरा ९ वर्षीय प्रसन्न दाहाल बिहीबार अपहरणमा परेका थिए । 

बिहीबार बिहान ८:४० बजेको समयमा सैन मैना ४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनका लागि पठाएकी पुष्पा दाहालले साँझसम्म पनि दुई बालबालिका घर नआएपछि तत्काल खोजीकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएकी थिइन् । 

उता प्रभात आवसीय बोर्डिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले ती बालबालिका स्कुल नआएको बताएका थिए । परिवारले स्कुलबाट घर नआएको खबर थाहा पाएपछि स्टाफ, बस चालक र सहचालकलाई सोध्दा दुई विद्यार्थीको आफन्तले फोटो खिचाउन लैजान्छु भनेर मुर्गिया झारेको भन्ने सूचना पाएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);