मोहोरियाको घरघरमा धारा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मोहोरियाको घरघरमा धारा

तनहुँ । भिमाद नगरपालिका–९ मोहोरियाकी रुन्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवा धाएको लामो अनुभव छ । परिवारका सदस्य र बस्तुभाउलाई गाग्रीमा पानी बोकेर पुर्‍याउन मुस्किल थियो उनलाई । हरेक दिन खानेपानीको जोहोमा सास्ती भोगेकी ६५ बर्षीया रानाको घरको दैलोमा खानेपानीको धारा जोडिएको छ अहिले ।

दैलोमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ उनलाई । पहिले भोगेका दुख बिर्साउँछ दैलोको धाराले । ‘उ बेला बिहान ३ बजे उठेर राँको बाल्दै कुवामा पानी भर्न जान्थ्यौं । पालो कुरेर बस्थ्यौं । अहिले घरमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ । यस्तो दिन आउँला भनेर कहिल्यै सोचिएन्’, उनले भनिन् । 

उनको अनुभवमा महिलालाई घरमै पानीको धारा पाएपछि त्यो भन्दा सुख केही हुँदो रहनेछ । घाँसदाउरा, ढिकीजाँतो र खानेपानी बोक्दा धेरै दुःख भोगेको उनले बताइन् । पानीको जोहोमा घण्टौं बिताउनु नपर्ने भएकाले दैलोमा भएको खानेपानी धाराले दुःख बिर्साएको रुन्चीमायाले बताइन् ।

उनलाई जस्तै खानेपानीको जोहो गर्न सजिलो भएको छ मोहोरियावासीलाई । यहाँका प्रत्येक घर घरै खानेपानीको धारा जडान गरिएको छ ।  कुवा पधेरो र खोल्सीमा पानी खोज्दै धाउने बाध्यताको अन्त्य त २०६५ सालमा गर्न खोजिएको थियो । त्यतिबेला स्याङ्जाको राम्चेबाट खानेपानी ल्याएर गाउँका १० घर बराबर एउटा घारा जडान गरिएको थियो । 

बिहानको समयमा मात्र आउने पानीले गाउँलेको मागलाई भरथेग गर्न मुस्किल हुन्थ्यो । स्थानीयको भनाई अनुसार पानीको धारा त कल(झगडा) धारा बन्यो । ‘टोल टोलमा धारा भए पनि बिहानको समयमा मात्रै पानी आउँथ्यो । पर्याप्त नहुने भएकाले लाइन कुरेर नबसे पानी नपाउने समस्या थियो’ मोहोरिया पिपलडाँडाकी देवीमाया रानाले भनिन् । उनका अनुसार अहिले घर घरै धारा भएपछि न पालो कुर्नुपर्ने झन्झट छ न त कसैसँग पानीको विषयमा झगडा नै हुन्छ । 

‘जति बेला चाहियो उतिबेला घरकै धारा खोलेर पानी भर्न पाइएछ । पानी भर्नलाई पालो पर्खन नपरेपछि घरधन्दा बेलामै सकिँदो रहेछ’, उनले सुनाइन् । एक ग्रागी पानीले दिन कटाएकी देवीमायाले चाहे जति पानी पाएकी छन् । घरकै धारामा प्रशस्त पानी आउन थालेपछि गाउँलेले तरकारी फलाउन थालेको उनले बताइन् ।

पुरानै राम्चेको मूलबाट ल्याएको नयाँ योजनाको पानीले गाउँलेलाई राहत दिलाएको छ । ५.५ किलोमिटर टाढाबाट ल्याएको पानी प्रशस्त पुगेको उपभोक्ताहरू बताउँछन् । पानीको मूल नजिक पुरानो २० घनमिटरको ठ्याँकिलाई मोहोरिया खानेपानी योजनाले प्रयोग गरेको छ । नौ र दुई घनमिटरको दुई÷दुई वटा, छ र पाँच घनमिटरको एक/एक वटा नयाँ ट्याङ्की बनाएर ११२ घरमा घरघरै खानेपानी धारा जडान गरिएको छ । तीन स्थानमा सार्वजनिक धारा जडान गरिएको मोहोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवीनकुमार रानाले बताए । 

रानाका अनुसार ४८ लाख ७१ हजार १२५ रुपैयाँ लगानी गरेर घरघरै खानेपानीको धारा पुर्‍याइएको हो । एक घर एक धारा जडान गर्न मोहोरियावासीले स्थानीय सरकारले भन्दा बढी लगानी गरेका छन् । 

भिमाद नगरपालिकाले १७ लाख ४० हजार ६८ रुपैयाँ बजेट खानेपानी योजनालाई उपलब्ध गराएको अध्यक्ष रानाले जानकारी दिए । स्थानीय उपभोक्ताले घरधुरीका हिसाबले संकलन गरेर २५ लाख ७७ हजार ३५७ रुपैयाँ लगानी गरेका छन् । घरधुरी उठाएको रकमले अपुग भएपछि पाँच लाख ५३ हजार ७०० रुपैयाँ बराबरको जनश्रमदान समेत गरेको अध्यक्ष रानाले बताए । ‘हामीलाई घरघरै पानीको धारा आवश्यकता थियो । नगरपालिकाले बजेट छुटाइदिएपछि त्यो भन्दा बढी हामीले नै लगानी गर्‍यौं’, उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);