डोरमणि पौडेलको बहिर्गमनपछि हेटौंडामा सडक विस्तारको चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डोरमणि पौडेलको बहिर्गमनपछि हेटौंडामा सडक विस्तारको चर्चा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तार गरी दायाँबायाँ २५-२५ मिटर बनाइने चर्चा चलेको धेरै भयो । सडक विस्तार गरी ट्राफिक व्यवस्थापन सहज बनाउनेदेखि हेटौंडाको सुन्दरता बढाउने भनेर चर्चा भए पनि यसतर्फ सम्बन्धित निकाय लागिनपर्दा काम हुन सकिरहेको छैन । 

बढ्दो जनघनत्व, चाप तर साँघुरा सडकका कारण विभिन्न जोखिम बढ्दै प्रदेश राजधानीलाई गिज्याइरहेको छ । विकास तथा समृद्धिको नारा लिएर सरकारमा बसेकाको ध्यान पनि सडक विस्तारको विकासमा पुग्न नसकिरहेको हेटौंडाबासीको गुनासो छ । सडकको जग्गामा घर बनाएर बसेकाबाहेक हेटौंडा नगरवासीले सडक विस्तार गर्न सरकारलाई पटकपटक सुझाव दिएका छन् । तर सडक विस्तारबारे उचित निर्णय लिने कार्य भने अहिलेसम्म अघि बढ्न सकिरहेको छैन । सडक विस्तारका लागि पटक पटक सूचना निकाल्ने डिभिजन सडक कार्यालय हेटौंडाले पनि सरकारका तर्फबाट साथ नपाउँदा काम अघि बढाउन सकिरहेको छैन । 

हेटौंडा बजारका विभिन्न मुख्य चोकमा साँघुरो सडकका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । विगतमै हुनुपर्ने सडक विस्तारको कार्य अब अघि बढ्ने भनेर फेरि चर्चा सुरु भएको छ । अहिले चर्चा गर्ने काम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् । उनी अब सडक विस्तार कार्यलाई अघि बढाउन आफूले पहल गरिरहेको बताउँछन् ।

सडक विस्तार गर्न आफूहरू तयार रहेको बताउँदै यसबारे संघीय सरकारलाई समेत ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् । ‘सडक साँघुरो हुँदा जोखिम धेरै बढ्दो छ । हेटौंडाको सडक विस्तारको कुरा विगतमा धेरै पटक उठे हामीलाई कुनै सरकारबाट यसका लागि सहयोग भएन,’ मेयर महत भन्छन्, ‘अब हेटौंडाको विकासलाई रोकिनु हुन्न । सडक विस्तार गरेर हेटौंडाको विकासको रफ्तार थप दौडाउनुपर्छ । ’

हेटौंडाको सडक विस्तार गर्नलाई उनकै पार्टीको सरकारले समेत असहयोग गरेको हो । संघमा केपी ओली र प्रदेशमा डोरमणि पौडेल नेतृत्वको सरकार हुँदा पनि सडक विस्तार कार्य अघि बढ्न सकेन । आफू विकास निर्माण तथा जनपक्षीय काममा अघि बढ्न चाहाने भए पनि आफ्नो जिम्मेवारीभन्दा बाहिरको कुरा भएकाले आफूले चाहँदा चाहँदै पनि जनपक्षीय काम तथा विकास निर्माणका काम गर्न नपाइरहेको उनी बताउँछन् ।

प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नै सडक विस्तारको विपक्षमा उभिँदै आउँदा पनि सडक विस्तारको अभियान सुरु गर्ने अनि स्थगित गर्नुपरेको  छ । हुन त पौडेलमाथि सडक विस्तार रोक्नका लागि व्यापारीलाई सहयोग गरेकैले मुख्यमन्त्री बन्ने सौभाग्य पाएको पनि आरोप लागेको छ ।

सडक विस्तार गरियो भने डोजरमुनि सुत्छु । रगतको खोला बग्छ भनेर विगतका वर्षमा उनले अवरोध गरेका थिए । पछि मुख्यमन्त्री बनेपछि २५ मिटर सडक विस्तारको कुरा सुन्नै नचाहेको उनीमाथि आरोप छ ।

अहिले मुख्यमन्त्रीबाट बहिर्गगमन पछि फेरि सडक विस्तारबारे चर्चा भइरहेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रबाट सडक विस्तार नगरी राप्ती खोलाको बगरलाई वैकल्पिक सडकका रुपमा विकास गर्ने अभिव्यक्ति दिँदा दिँदै उनी साढे तीन वर्षपछि सरकारको नेतृत्व अष्टलक्ष्मीलाई हस्तान्तरण गरेर बहिगर्मन हुनुप-यो । सरकारमा छँदा उनले न हेटौंडा बजारको सडक विस्तार गरे न त वैकल्पिक सडक निर्माण गर्ने उनको अभिव्यक्ति सार्थक बन्यो । प्रदेश सरकार परिवर्तन पछि अब भने सडक विस्तार होला कि भन्ने अपेक्षामा हेटौंडाबासी रहँदा देशको केन्द्रीय राजनीतिको गतिले फेरि अन्यौलता थपेको छ । 

डिभिजन सडक कार्यालय हेटौंडा भने यही असोज महिनामा हेटौंडामा सडक विस्तार कार्यले गति लिने बताउँछ । विगतमा पनि अब विस्तार कार्यलाई कसैले रोक्न सक्दैन भन्दै कार्य अघि बढाउने, तर केही दिन केही संरचनालाई तर्साएर भतकाइएपछि फेरि रोकिने गरेको डिभिजन कार्यालयले फेरि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५-२५ मिटर विस्तारको काम अघि बढ्ने जनाएको  छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार सडक क्षेत्रभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सूचना जारी भइसकेकाले सो अनुसार तयारी पनि भइरहेको छ । 

सडक विभाग आयोजना निर्देशनालय (एडिबी) काठमाडौंले पनि सूचना जारी गरेर सडक विस्तारबाट चितवन, बारा र मकवानपुरलगायतको क्षेत्रमा पर्ने प्राकृतिक, भौतिक, जैविक, सामाजिक साँस्कृतिक र आर्थिक प्रभावबारे सुझाव संकलन गरेकाले सुझाव प्राप्त हुनासाथ सडक विस्तारको कार्य अघि बढ्ने सूचना अधिकारी उपाध्यायको भनाइ छ ।

एडिबीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको ३ वटा, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १० वटा र मनहरी गाउँपालिकाको ४ वटा, चितवनको राप्ती नगरपालिकाको ८ वटा, खैरहनी नगरपालिकाको ४ वटा, रत्नपुर नगरपालिकाको ६ वटा र भरतपुर महानगरपालिकाको २ वटा वडामा पर्ने प्रभावबारे सुझाव संकलन गरेको हो । यसअछि अब पूर्वपश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तरगतको प्रस्तावित पथलैया–हेटौंडा– नारायणगढ सडकखण्डको विस्तार कार्य सुरु हुने जनाइएको छ । 

विगतमा सडक विस्तार कार्य आरम्भ हुँदा हेटौंडा बजार क्षेत्रका केही घरधनीले मुआब्जा बिना घर टहरा भत्काउन नमिल्ने भन्दै अदालतमा रिट निवेदन हालेपछि सडक निर्माण रोकिन पुगेको थियो । तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको काम अघि बढाएपनि यो बिचमा डिभिजन सडक कार्यालयले सूचना निकाल्ने, सडक अतिक्रमण गरी संरचना बनाएका केहीले आन्दोलन गर्ने, मुद्दा हाल्ने अनि रोकिने हुँदै आएको छ । 

सडक विस्तारबारेको अन्यौलताका कारण मुख्य बजारका घर जग्गा बिक्री अहिले हुन सकिरहेको छैन ।  प्रभावित घरहरू भत्कने हल्लाले लामो समयदेखि मुख्यबजार क्षेत्रमा घरजग्गा विक्रि हुन सकेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);