गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा सातजना प्यालेस्टाइनीको मृत्यु भएको छ । ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । शनिवार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । उक्त स्थानमा रेस्टुरेन्ट, पसल र विस्थापितहरूको आश्रयस्थल रहेकाले हताहतीको संख्या बढी भएको स्थानीय स्रोतले जानकारी दिएको छ । अल–शिफा मेडिकल कम्प्लेक्सका अनुसार आक्रमणमा परेका अन्य छजना घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ ।
अर्को एक छुट्टै घटनामा, गाजा सहरको उत्तरपूर्वमा रहेको मस्जिद नजिकै इजरायली हवाई हमला हुँदा ४४ वर्षीय मोहम्मद वालिद अल–नखालाको घटनास्थलमै मृत्यु भएको छ । सोही दिन अर्को एक कारबाहीमा आठ वर्षीया शाहद अब्दुल–रज्जाक अल–नज्जरले आफ्नो परिवारको टेन्टमा इजरायली ड्रोनबाट प्रहार भएको मिसाइलका कारण ज्यान गुमाएकी छिन् ।
यसैबीच, दक्षिण गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सले अल–मावासी क्षेत्रमा भएको गोलाबारीमा घाइते भएका मौसा अबु दानको उपचारका क्रममा मृत्यु भएको जनाएको छ । शुक्रवारको चोटका कारण ज्यान गुमाउने उनी पछिल्लो पीडित हुन् ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा हमास र इजरायलबीच युद्धविराम भएयता मात्र इजरायली आक्रमणबाट १ हजार ४ सय ८१ जनाको मृत्यु भइसकेको छ । अक्टोबर ७, २०२३ देखि शुरु भएको यो द्वन्द्वमा हालसम्म ज्यान गुमाउने प्यालेस्टाइनीहरूको कुल संख्या ७४ हजार ३ सय ७० पुगेको छ । अन्तर्राष्ट्रिय समुदायले मानवीय संकट गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार