कोरोना कहरका कारण चिडियाखानाको आम्दानी घट्दा जनावरको खाद्यान्न व्यवस्था गर्नै धौ–धौ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०७९, आइतबार

कोरोना कहरका कारण चिडियाखानाको आम्दानी घट्दा जनावरको खाद्यान्न व्यवस्था गर्नै धौ–धौ

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताईन् । उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्य बराबर रहेको बताईन् । उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताईन् ।

सूचना अधिकृत चालिसेले भने, ‘हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्यौं । दोस्रो लहरमा साढे २ महिना बन्द गर्यौं । आर्थिक स्थिती खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ। पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्शान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ । तर पछिल्लो पटक भौतिक संरचना शुन्य बराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरुमा खर्च गर्छौं, हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’

सूचना अधिकृत चालिसेले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताईन् । उनले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागु गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिए ।

सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ ।

त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५÷५जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ÷छैन, जनावरलाई खानेकुरा दिएको-नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताईन् ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै सूचना अधिकृत चालिसेले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको जानकारी दिईन् । उनले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताईन् । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उनको भनाई छ ।

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेको तर्क छ । चिडियाखानामा स्तनधारी ३६ प्रजातिका २ सय ९९, सरिसृप १० प्रजाति का ४८, मत्स्य १५ प्रजातिका ४१, पंक्षी ५२ प्रजातिका छ सय ९ वटा गरी एक सय १३ प्रजातिका नौ सय ९७ वटा वन्यजन्तु रहेका छन् ।

Leave a Reply