एमाले अध्यक्ष ओलीको गृहजिल्लामा कसको पल्लाभारि ? | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा कसको पल्लाभारि ?

ससुराली जिल्लामा माधव नेपालको पार्टी कमजोर

झापा । नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले नै बलियो देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा विगतमा खुलेर लागेका नेताहरू पार्टी विभाजनसँगै ओली पक्षमा देखिएका हुन् । 

नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेपालको ससुराली जिल्ला झापामा उनको पार्टी केन्द्रीय सदस्यविहीन बनेको छ । एमालेको नवौँ महाधिवेशनमा दुई वैकल्पिक केन्द्रीय सदस्यसहित चार केन्द्रीय सदस्य निर्वाचित भएको जिल्लामा नेपालको समाजवादी केन्द्रीय सदस्यविहीन छ ।  दर्ताका लागि निवेदन पेस गर्दा झापाबाट केन्द्रीय सदस्यमा रविन कोइराला, नरेश खरेल र भास्कर काफ्लेको नाम समावेश भएको थियो । काफ्ले २ जेठ २०७५ अघि एमालेको वैकल्पिक केन्द्रीय सदस्य थिए ।

तत्कालीन एमालेमा कोइराला पनि वैकल्पिक केन्द्रीय सदस्य हुन् भने खरेलले भने नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेका थिए । तत्कालीन एमाले र माओवादीको एकताका बेलामा एमालेले थपेको ४६ जना केन्द्रीय सदस्यमध्येका एक हुन्, खरेल । तत्कालीन एमाले र माओवादीको एकता भंग गर्ने सर्वोच्चको आदेशसँगै यी तीन नेता नेपाल समूहमा लागेर झापामा आफ्नो समूहलाई दह्रो बनाउन लागि परेका थिए । 

यी तीनै नेतालाई मञ्चमा राख्दै नेपालले गत वैखाशमा तत्कालीन एमालेको समानान्तर समिति बनाएका थिए । नेपालले पार्टी दर्ताका लागि निवेदन दिनुभन्दा अघिसम्म यी नेता एमाले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए । तर, नेपालले पार्टी दर्ता गरेपछि कोही ओलीतिर लागे भने कोही तटस्थ छन् । खरेल अहिले निस्क्रिय छन् भने काफ्ले सम्पर्कमा छैनन् । उपचारका लागि भारत गएको बताउने काफ्ले नेकपा (एकीकृत समाजवादी)को सम्पर्कमा नरहेको पार्टी स्रोतले जनाएको छ । 

कोइराला भने एमालेमै फर्किएका छन् । विगतमा ओलीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै आएका उनले नेपालले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् । ‘म एमालेमै छु,’ उनले भने, ‘मेरा असहमतिहरू पार्टीभित्र बसेर पार्टीमै राख्छु ।

नयाँ पार्टीमा समावेश भएका तीन केन्द्रीय सदस्यले इच्छा नदेखाएपछि नेपालको नयाँ पार्टी झापामा केन्द्रीय सदस्यविहीन भएको छ । विगतमा बनेको एमालेको समानान्तर कमिटीलाई नै नयाँ पार्टीको कमिटीको रूपमा रूपान्तरण गर्ने सहमति भएको जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । तीन सय ५१ सदस्य रहेको यो कमिटीमा २१ जना तत्कालीन एमालेका जिल्ला सदस्य रहेको उनले बताए । ‘हामी जिल्लामा संगठन निर्माणलाई प्राथमिकता दिएर काम गर्छौँ,’ उनले भने, ‘यहाँबाट केन्द्रीय सदस्य हुन योग्य मान्छे उत्पादन पनि गर्छौँ ।

जनप्रतिनिधिमा पनि कमजोर नेकपा (एकीकृत समाजवादी)

नवगठित पार्टी जनप्रतिनिधिका हिसाबले पनि कमजोर देखिएको छ । एमालेबाट फुटेको यो पार्टीमा निर्वाचित जनप्रतिनिधि पनि कम छन् । तत्कालीन एमालेले प्रतिनिधिसभामा झापाको पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा जीत निकालेको थियो । 

विगतमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित पवित्रा निरौला खरेल माधव समूहमा थिइन् । तर, पार्टी विभाजनसँगै उनले माधव समूह त्याग गरिन् । योसँगै झापामा निर्वाचित तीन प्रतिनिधि सदस्यहरू नै एमालेमा छन् । 

यस्तै, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये आठवटा एमालेले जितेको थियो । आठ जनानै प्रदेशसभा सदस्य एमालेमै रहेका छन् । यस्तै, जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली भने नेपालको पार्टीमा खुलेकी छन् । 

जिल्लामा १५ स्थानीय तहमध्ये एमालेले सातवटामा प्रमुख/अध्यक्ष र ११ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्योमध्ये एकजना नगरप्रमुख मात्र नेपालको पार्टीमा खुलेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना नेपालको पार्टीमा खुलेका हुन् । यस्तै, ११ उपप्रमुखमध्ये तीनजना नेपाल समूहमा देखिएका छन् । बिर्तामोड उपप्रमुख पवित्रा महतरा प्रसाईं, भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा देखिएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);