पोखराको अन्तर्राष्ट्रिय बिमानस्थलको काम ८१ प्रतिशत सम्पन्न, ६ महिनामा सबै काम पुरा हुने आयोजना प्रमुखको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखराको अन्तर्राष्ट्रिय बिमानस्थलको काम ८१ प्रतिशत सम्पन्न, ६ महिनामा सबै काम पुरा हुने आयोजना प्रमुखको दाबी

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण प्रगति ८१ प्रतिशत सम्पन्न भएको छ ।

निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण प्रगति ८१ प्रतिशत पुगेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘निर्माण प्रगति ८१ प्रतिशत पुग्यो,’ उनले भने, ‘अब कुनै बाधा व्यवधान आएन भने अबको ६ महिनामा सबै काम पूरा भएर तयार हुनेछ।’

बिमानस्थल निर्माणको काम पछिल्लो एक महिनायता अझ तीव्र छ । कोरोनाविरुद्धको खोप लगाएका एक सय जना चिनियाँ प्राविधिक र कामदार आएसँगै निर्माणको कामले गति लिएको हो । अहिले नेपाली र चिनियाँ गरेर करिब तीन सय जना जनशक्ति परिचालित छन्।

आयोजना प्रमुख मुनकर्मीका अनुसार हाल बिमानस्थलका टर्मिनल भवन र धावनमार्ग लगायत क्षेत्रमा फिनिसिङका काम भइरहेका छन् । ‘स्कालेटर, एलिभेटर लगायतका उपकरण आइसकेका छन्। कतिपय उपकरण जडानका लागि चिनियाँ जनशक्ति आउने तयारीमा छन्,’ उनले भने। विमानस्थलको पूर्वी भागमा भल–बाढी व्यवस्थापनका लागि सिंचाइ डिभिजनले काम अगाडि बढाउन आवश्यक रहेको उनले बताए।

निर्माणाधीन बिमानस्थल नजिकै रिठ्ठेपानी डाँडा छ। त्यसले विमान उडान र अवतरणमा कठिन हुने देखिएपछि अर्घौं चोकबाट दक्षिण भागमा रहेको डाँडा काट्नुपर्ने निष्कर्ष नागरिक उड्डयन प्राधिकरणको छ।

प्राधिकरणको प्रविधिक टोलीले डाँडाको २४.७ मिटर उचाइ काट्नैपर्ने जनाएको थियो। निर्णय अनुसार वन मन्त्रालयबाट रुख कटानको आदेश आएपछि डाँडा कटान थाल्न सहज हुने आयोजना प्रमुख मुनकर्मीले बताए।

उनका अनुसार डाँडा कटानका लागि मात्र करिब ६ महिनामा लाग्ने आँकलन छ। ‘जग्गाधनीले डाँडा कटानका लागि काम सुरु गरिसक्नुभएको छ । निस्किएको माटो व्यवस्थापनका लागि बेसमेन्ट बनाइसक्नुभएको छ,’ उनले भने । रिठ्ठेपानी डाँडाको ३ सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ । यो डाँडा काट्न १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ठेक्का लिएको बिमानस्थल निर्माण सन् २०१७ नोभेम्बरदेखि सुरू भएको हो । अब छिट्टै ल्याण्डफिल्ड साईड र सिंचाइको पानी व्यवस्थित भए चैतदेखि बिमानस्थल सञ्चालनमा आउने पनि प्रमुख मुनकर्मीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);