दार्चुला । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका ३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जनाएको छ । यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको हो ।
उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । यस्तै नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ ।
अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।