प्रकाश नेपाल,
पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोनाबाट धेरै नागरिकहरुको ज्यान जान थालेपछि मृतकको परिवारलाई राहत समेत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले कार्यपालिकाको बैंठकबाटै कोरोनाबाट मृत्यु हुने परिवारका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उसले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सम्बन्धित वडाको सिफारिसमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
कोरोना महामारीको दोस्रो भेरियन्टपछि यहाँ ९ जनाको मृत्यु भएको छ ।
‘अधिकांश मृतकका परिवार पनि संक्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकातिर परिवार नै संक्रमित, अर्कोतर्फ सदस्य गुमाउनुको पिडा छ’,अध्यक्ष बस्यालले भने,‘यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनेर यस्तो निर्णय गरेका हौं ।’
पालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिने गरेको छ । उसले अन्य कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घर–घरमा पुगेर स्वास्थ्य सामग्री र आवश्यक औषधि समेत वितरण गर्दै आएको छ ।
गाउँपालिकावासीहरु कोरोना संक्रमण भई स्वास्थ्य उपकरणका अभावमा समस्यामा नपरुन भन्ने उद्देश्यले गाउँसरकार कोरोना संक्रमितहरुको घरमै पुगी चेक जाँचसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको हो ।